लेख विवरण

पूर्व अष्ट्रेलियन कप्तान बब सिम्पसनको निधनप्रति आइसीसीद्वारा गहिरो दुःख व्यक्त

पूर्व अष्ट्रेलियन कप्तान बब सिम्पसनको निधनप्रति आइसीसीद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं, अष्ट्रेलियाका पूर्व कप्तान तथा महान् क्रिकेटर बब सिम्पसनको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको निधनप्रति अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले गहिरो शोक व्यक्त गरेको छ।

ICC अध्यक्ष जय शाहले एक विज्ञप्ति जारी गर्दै सिम्पसनको योगदानलाई उच्च सम्मान गर्दै भने, "बब सिम्पसन क्रिकेटका सच्चा महान् हस्तीमध्ये एक हुनुहुन्थ्यो। उहाँको निधनको खबर अत्यन्त दुःखद छ। खेलाडी, कप्तान र प्रशिक्षकको रूपमा उहाँले अष्ट्रेलियन क्रिकेट मात्र होइन, विश्व क्रिकेटमै ठूलो प्रभाव पार्नुभयो।"

"उहाँले एउटा यस्ता पुस्तालाई मार्गदर्शन गर्नुभयो, जसले पछि गएर विश्व क्रिकेटमा आफ्नो पहिचान स्थापित गरे। उहाँको योगदान मैदानमा मात्र सीमित थिएन, उहाँको प्रभाव निकै व्यापक थियो।"

"ICC तर्फबाट उहाँका परिवार, साथीभाइ र सम्पूर्ण क्रिकेट समुदायप्रति हार्दिक समवेदना प्रकट गर्दछु। उहाँको योगदान सधैं सम्झिनेछौं र कदर गरिनेछ।"

बब सिम्पसन ICC Hall of Fame सदस्य समेत थिए। उनले सन् १९५७ देखि १९७८ सम्म अष्ट्रेलियाका लागि ६२ टेस्ट खेल खेलेका थिए, जसमा उनले ४,८६९ रन बनाएका थिए। उनको ब्याटिङ औसत ४६.८१ रहेको थियो, जसमा १० शतक, २७ अर्धशतक र व्यक्तिगत उच्च स्कोर ३११ रन रह्यो।

सिम्पसन एक दक्ष लेग-स्पिन बलर पनि थिए। उनले टेस्ट क्रिकेटमा ७१ विकेट लिएका थिए, जसमा दुई पटक पाँच विकेट लिने कीर्तिमान थियो। त्यसबाहेक, उनी एक उत्कृष्ट क्षेत्ररक्षक पनि थिए, जसले ११० क्याच लिएका थिए।

सन् १९६८ मा क्रिकेटबाट सन्यास लिए पनि, १९७८ मा ४१ वर्षको उमेरमा उनले पुन: टेस्ट कप्तानको रूपमा फर्किएर कमजोर अष्ट्रेलियन टोलीको नेतृत्व गरेका थिए। सन्यासपछि उनले अष्ट्रेलियाका पहिलो पूर्णकालिक प्रशिक्षकको रूपमा भूमिका निभाएका थिए र राष्ट्रिय चयनकर्ता समेत रहेका थिए।

उनको निधनले विश्व क्रिकेटले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.