लेख विवरण

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने

काठमाडौंँ। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी ) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुनेछ।

पोखराको कर्भड हलमा इडब्लुभी आयोजनालाई राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त भइसकेको छ । यसको जानकारी नेपाल भलिबल संघलाई गराई सकिएको छ ।

सुन्दर पोखरा शहर भलिबलप्रतिको उत्साह, सक्रिय खेलसंस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो।

यस पटकको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागिएको हो। यसले स्थानीय आर्थिक गतिविधि बढाउन, खेलाडीलाई अवसर दिन र समुदायलाई संलग्न गर्न मद्दत गर्ने विश्वास लिएका छौं।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ । स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ । सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन् ।

इडब्लुभीको आधिकारिक मनोरञ्जन साझेदारका रूपमा टिक‌ टक रहेको छ । जसले लिगको प्रचार–प्रसार, दर्शकको सहभागिता एवम् खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारण गर्नेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.