लेख विवरण

एनआरएनए स्लोभेनिया फुटबल टोलीले अष्ट्रियाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने

एनआरएनए स्लोभेनिया फुटबल टोलीले अष्ट्रियाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने

स्लोभेनिया, अगस्ट २४ – नेपाली खेलकुदको क्षेत्रमा एक महत्वपूर्ण सफलता हासिल गर्दै, एनआरएनए स्लोभेनिया फुटबल टोलीले अष्ट्रियाको साल्जबर्गमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। यो प्रतियोगिता ३१ अगस्ट २०२५ मा आयोजना हुँदैछ।

हालै सम्पन्न छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको टोलिले अब स्लोभेनियाबाट नेपालीहरुको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछ।

टोली छनोट प्रक्रियामा खेलाडीको फिटनेस, स्ट्यामिना, अनुशासन, खेल रणनीति, समर्पण र कौशललाई मुख्य मापदण्ड बनाइएको थियो। प्रशिक्षक टोलीको बारीक अवलोकन र निर्णायक चरणपछि उत्कृष्ट ९ खेलाडीहरूको टोलि छनोट गरिएको हो।

व्यवस्थापन टोलीः

टिम म्यानेजरः कृष्ण थापा

कोचः कृष्ण रानाभाट

अन्तिम ९ खेलाडीहरूको सूचीः

विकास राना (कप्तान), सञ्जीव खड्का (गोलकिपर), भगिराज छेम्जोङ, भुवन छत्याल, दल पुन, विशाल लिम्बु, जनक राना मगर, सुझन गुरुङ र अमृत मोक्तान।

यो सहभागिता केवल फुटबल प्रतियोगिता मात्र होइन, नेपाली समुदायको अन्तर्राष्ट्रिय उपस्थिति, पहिचान र एकताको प्रतीक रहेको एनआरएनए स्लोभेनियाले जनाएको छ।
खेलकुदले नेपाली युवाहरूको ऊर्जा, नेतृत्व र सामूहिक भावनालाई उजागर गर्दै आएको छ, र यो टिमले त्यो परम्परालाई अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

"हाम्रो लक्ष्य केवल जित मात्रै होइन, नेपाली झण्डालाई सम्मानपूर्वक फहराउनु हो," – क्याप्टेन विकास रानाले बताए।

एनआरएनए स्लोभेनियाले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई टिमप्रति सकारात्मक समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्न आह्वान गरेको छ।

यो हाम्रो खेलाडीहरूको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको जित हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.