नेपाल ए टिमलाई काँकडभिट्टामा विदाई, गुवाहाटीमा आसामविरुद्ध टी–२० सिरिज खेल्ने
काँकडभिट्टा, भदौ १० – नेपाली राष्ट्रिय क्रिकेट टिम 'ए' लाई भारतको आसाम प्रस्थान अघि काँकडभिट्टामा एक विशेष समारोहका बीच विदाई गरिएको छ। कोशी प्रादेशिक क्रिकेट सङ्घ, झापा जिल्ला क्रिकेट सङ्घ र भद्रपुर क्रिकेट क्लबको संयुक्त आयोजनामा टिमलाई भव्य रुपमा बिदाइ गरिएको हो।
विकेटकिपर ब्याटर अनिल साहको कप्तानीमा नेपाल ए टिम आइतबार भारतको गुवाहाटी प्रस्थान गरेको हो। नेपाल ए र आसाम स्टेट टिमबीच भदौ १० देखि १८ गतेसम्म पाँच खेलको टी–२० सिरिज हुने तालिका तय भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस टी–२० सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको थियो। कप्तानको जिम्मेवारी राष्ट्रिय टोलीमा अनुभव प्राप्त अनिल साहले पाएका छन्। टोलीमा युवा तथा उदयीमान खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको छ।
घोषित टोली यस प्रकार रहेको छ:
अनिल साह (कप्तान), अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल।
क्रिकेट विश्लेषकहरूका अनुसार यो सिरिज युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने उत्कृष्ट अवसर हुनेछ। क्यानले यस्तो अभ्यास प्रतियोगिता मार्फत राष्ट्रिय टोलीको भविष्य तयार पार्न चाहेको प्रस्ट देखिन्छ।
नेपाल ए को प्रदर्शनले निकट भविष्यका लागि राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीहरूलाई मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्