युरोप भ्रमणमा रचना रिमाल, सान्तियागो बर्नाबेउ पुग्दा आँखै रसाए
काठमाडौं, भदौ १० – चर्चित गायिका रचना रिमाल यतिबेला युरोप भ्रमणमा छन्। साङ्गीतिक यात्राका क्रममा विभिन्न देशमा सांगीतिक प्रस्तुति दिँदै गर्दा उनले एक भावुक अनुभव सामाजिक सञ्जालमार्फत् बाँडेकी छिन्।
स्पेन पुगेर उनले विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको होम ग्राउण्ड सान्तियागो बर्नाबेउ (Santiago Bernabéu) पुग्ने अवसर पाएकी छन्। बाल्यकालदेखि फुटबलमा चासो राख्ने रचनाले टिभीमा हेर्दै आएका मैदानहरू मध्ये एकमा आफैँले पाइला राख्दा अत्यन्त भावुक भएको बताएकी छिन्।
"जीवनमा केही क्षणहरू शब्दभन्दा पर हुन्छन्," उनले लेखेकी छिन्, "पहिलो पटक रियल मड्रिडको घरमै कदम राख्दा मनमा उठेको खुशी, रोमाञ्चकता र सपना पूरा भएको अनुभूति अवर्णनीय रह्यो। टिभी पर्दामा देख्दै आएको मैदान, आज आफ्नै आँखाले देख्दा आँखा रसाए।"
उनले रियल म्याड्रिड मात्र होइन, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, लिभरपुल, आर्सनल, पिएसजी लगायत क्लबहरूको स्टेडियम हेर्ने चाहना राखेकी छिन्।
तर अन्त्यमा उनले एक गहिरो चाहना व्यक्त गरेकी छन् — "एउटा मात्रै यस्तै रंगशाला आफ्नै देशमा भैदिए" भन्ने। नेपालको लागि यस्तो स्तरको स्टेडियम कहिले बन्ने होला भन्ने आशा व्यक्त गर्दै उनले राष्ट्रिय खेल पूर्वाधारको आवश्यकतालाई पनि उठाएकी छिन्।
रचना रिमाल नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका हुन्, जसले हालसम्म थुप्रै चर्चित गीतहरूमा आवाज दिइसकेकी छन्।

टिप्पणी लेख्नुहोस्