नेपाल ओलम्पिक कमिटिको तदर्थ समितिको प्रतिनिधिमण्डल र राखेप सदस्य–सचिव घिसिङबीच शिष्टाचार भेट
काठमाडौं, भदौ १० – नेपाल ओलम्पिक कमिटिको नवगठित तदर्थ समितिको प्रतिनिधिमण्डलले आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव श्री टंकलाल घिसिङसँग शिष्टाचार भेटघाट गरेको छ। परिषद् कार्यालयमा सम्पन्न उक्त भेटमा समसामयिक विषयहरूमा समेत गहन छलफल गरिएको थियो।
प्रतिनिधिमण्डलको नेतृत्व समितिका संयोजक मा. ध्रुव बहादुर प्रधानले गर्नुभएको थियो। छलफलको क्रममा आगामी २०औं एशियाली खेलमा नेपाली खेलाडीहरूको सहभागिता, उनीहरूको तालिम, सुविधा र वैदेशिक प्रशिक्षण लगायतका विषयमा विस्तृत चर्चा गरिएको थियो। साथै, समितिको भावी कार्ययोजनाका बारेमा समेत सदस्य–सचिवलाई जानकारी गराइएको थियो।
छलफलमा समितिले राखेपलाई हाल अवैध घोषणा गरिएको जीवनराम श्रेष्ठद्वारा स्वघोषित नेपाल ओलम्पिक कमिटिको तथाकथित कार्य समितिद्वारा भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको थियो। ती गतिविधिहरूले खेलाडी र खेल संघहरूमा मानसिक दबाब सिर्जना गरेको भन्दै समितिले यस्ता अवैधानिक क्रियाकलाप तुरुन्त रोक्न आवश्यक रहेको धारणा राखेको थियो।
भेटघाट उपलब्धिमूलक भएको समितिको निष्कर्ष रहेको छ। सदस्य–सचिव घिसिङले समितिलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा संस्थागत सहकार्यमा जोड दिनुपर्ने बताउनुभएको थियो। त्यस अवसरमा संयोजक ध्रुव बहादुर प्रधानले परिषद्को सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुवै पक्षले सहकार्यमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।

टिप्पणी लेख्नुहोस्