लेख विवरण

सूर्यविनायकमा आधुनिक फुटबल रङ्गशाला निर्माणका लागि सरकारी सहमति

सूर्यविनायकमा आधुनिक फुटबल रङ्गशाला निर्माणका लागि सरकारी सहमति

भदौ ११, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा सूर्यविनायक नगरपालिका–८ मा नयाँ तथा आधुनिक अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशाला निर्माण हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा रङ्गशाला निर्माणका लागि करिब २०० रोपनी जग्गा उपलब्ध गराउने सैद्धान्तिक सहमति प्राप्त भएको हो।

एन्फाको प्रस्तावमा सूर्यविनायक नगरपालिकाले रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई औपचारिक सिफारिस गरेको छ। सो सिफारिसपत्र बुधबार नगरपालिका प्रमुख बासु थापाले एन्फाका महासचिव किरण राईलाई हस्तान्तरण गर्नुभयो।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा हालको कार्यसमितिले नयाँ रङ्गशालाको आवश्यकता औंल्याउँदै प्रधानमन्त्री ओलीसँग पटक–पटक भेट गर्दै अनुरोध गरेका थिए। प्रधानमन्त्री ओलीले यसप्रति विशेष चासो देखाउनुका साथै झण्डै ५०,००० दर्शक क्षमताको विशाल र आधुनिक रङ्गशाला निर्माण गर्ने सार्वजनिक घोषणा समेत गर्नुभएको थियो।

रङ्गशाला निर्माण प्रक्रियामा प्रधानमन्त्रीको सक्रिय भूमिका सँगसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सहकार्य महत्वपूर्ण रहेको एन्फाले जनाएको छ।

निर्माण गरिने रङ्गशालालाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधासम्पन्न फुटबल स्टेडियमको रूपमा विकास गरिने योजना रहेको छ, जसले नेपाली फुटबलको पूर्वाधारमा ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.