१९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : केभीकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा
काठमाडौं, भदौ ११ गते ।
केभीकेएसएस र भ्याली पब्लिक १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
केभीकेएसएसले तेजस्वीलाई २०–१५ तथा भ्याली पब्लिकले बेलमोन्टलाई ३२–२५ ले पराजित गरे । केभीकेएसएसकी पूजा गुरुङ तथा भ्याली पब्लिककी दृष्य गुरुङले समान ८–८ अंक जोडे । सोही स्पर्धामा आयोजक ग्रिनल्यान्डले न्युटनलाई ३५–२७ ले हरायो । ग्रिनल्यान्डकी आहाना खड्काले १९ स्कोर गरिन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा न्युटनले लालीगुराँस नेसनल एकेडेमीलाई ५५–४५, गण्डकीले पारामाउन्टलाई ४१–३५, जिनियस वल्र्डले स्वेता सदनलाई ४३–३८, किङडमले सेबलाई ४४–३९ र भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३९–३४ ले पाखा लगाए । न्युटनका उज्ज्वल श्रेष्ठले १४, गण्डकीका मनोज गुरुङले १२, जिनियसका मासुम रेजाले १३, किङडमका मिङमार छिरिङले १२ र भ्याली पब्लिकका अशोक विकले १४ अंक बटुले ।
जुनियर ब्वाइजमा न्युटनले बीएनएलाई ३०–२९ तथा एन्जल्स हार्टले पारामाउन्टलाई २३–१९ ले पन्छाए । न्युटनका आशिष राईले ११ तथा एन्जल्स हार्टका रियाज केसीले ७ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्