टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकलाई उपाधि
काठमाडौं, भदौ १४ गते ।
टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । टीआईए सिनियर ब्वाइज, गोल्डेनपिक जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा टीआईएले न्युटनलाई ६७–६१ ले पराजित ग¥यो । टीआईएका वर्दान थापाले २७ अंक जोडे ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले जेबी स्कुललाई २९–२१ ले हरायो । गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा उपाधिको प्रबल दाबेदार भ्याली पब्लिकले केभीकेएसएसलाई २९–२२ ले पाखा लगायो । भ्याली पब्लिककी दृष्य गुरुङले १० अंक जोडिन् ।
सिनियर ब्वाइजमा टीआईएका रोशन नगरकोटी, जुनियर ब्वाइजमा गोल्डेनपिकका फुर्वा शेर्पा र सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा न्युटनका युगेन लामा, जुनियर ब्वाइजमा ग्रिनल्यान्डका वियोन गुरुङ र सिनियर गल्र्समा केभीकेएसएसकी खुसी मितोक उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर ब्वाइजमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियर ब्वाइजमा जेबी स्कुलका गौरव ओली र सिनियर गल्र्समा ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारी सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी र ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकाले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले प्रतिस्पर्धा गरेको ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्