लेख विवरण

पोर्तुगलमा ७औं तमु कप–२०२५, विजेताले पाउनेछ रेकर्ड पुरस्कार

पोर्तुगलमा ७औं तमु कप–२०२५, विजेताले पाउनेछ रेकर्ड पुरस्कार

लिस्बन, अगस्ट ३० – पोर्तुगलमा रहेका नेपाली समुदायबीच प्रतिष्ठित मानिने तमु कप–२०२५ आगामी अगस्ट ३१ मा हुने भएको छ। तमु (गुरुङ) समाज एसोसिएशन पोर्तुगलले सातौँ संस्करणको प्रतियोगिता राजधानी लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा मा आयोजना गर्ने तयारी पूरा गरेको छ।

यो पटकको प्रतियोगिता पुरस्कार राशिका हिसाबले अहिलेसम्मकै सबैभन्दा आकर्षक बन्ने देखिएको छ। आयोजकका अनुसार, ७ ए साइड ओपन च्याम्पियन टिमले ५,१०० युरो नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेताले भने २,५०० युरो सहित सम्मानित हुनेछन्।

भेट्रान्स ३५+ समूहमा पनि चुरसदार प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यस वर्गको विजेताले १,५०० युरो, उपविजेताले ७५० युरोसहित ट्रफी र मेडल पाउनेछन्।

आयोजक समितिका अनुसार, यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपाली समुदायबीचको एकता, मित्रता र सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण अवसर बन्नेछ।

यस पटक प्रतियोगिताको मुख्य सहयोगीको रूपमा लिस्बनकै लोकप्रिय रेस्टुरेन्ट दियालो अगाडि आएको छ। नेपाली, पोर्तुगीज र भारतीय परिकारका लागि परिचित दियालोले सामाजिक उत्तरदायित्वअनुसार समुदायलाई साथ दिँदै आएको छ।

२००८ मा स्थापित तमु समाज पोर्तुगलले निरन्तर रूपमा खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत प्रवासी नेपालीलाई एक ठाउँमा ल्याउने काम गर्दै आएको छ। सातौँ संस्करणको तमु कपले पनि खेलप्रेमी र दर्शकलाई ऊर्जा र उत्साह भरिदिने आयोजकले विश्वास व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.