लेख विवरण

राहुल द्रविड़ले राजस्थान रोयल्सको कोचिङ छोडे

राहुल द्रविड़ले राजस्थान रोयल्सको कोचिङ छोडे

नयाँदिल्ली, अगस्ट ३० – पूर्व भारतीय हेड कोच तथा क्रिकेट लिजेन्ड राहुल द्रविड़ले आईपीएल फ्रेन्चाइज राजस्थान रोयल्स को कोचिङ पद छोडेका छन्। फ्रेन्चाइजले शनिबार सामाजिक सञ्जाल X मार्फत यसबारे जानकारी दिएको हो। द्रविड़ले किन फ्रेन्चाइज छोडे भन्ने कारण भने सार्वजनिक गरिएको छैन।

द्रविड़ २०२४ मा भारतीय टोलीलाई टी-२० विश्वकप जिताउने हेड कोच रहेका थिए। त्यसपछि उनी राजस्थान रोयल्सका हेड कोच बनेका थिए। तर, आईपीएल २०२५ मा राजस्थानको प्रदर्शन निकै कमजोर रह्यो। टोलीले १४ खेलमध्ये ४ मा मात्र जित निकाल्दै १० हारको सामना गरेको थियो। त्यसकै कारण टोली तालिकामा ९औँ स्थानमा सीमित रह्यो।

फ्रेन्चाइजको व्यवस्थापनमा पछिल्लो समय अस्थिरता देखिएको छ। कप्तान संजू स्यामसनले समेत ट्रेड वा रिलिजको आग्रह गरेको खबर विभिन्न सञ्चारमाध्यममा आएको थियो, यद्यपि यसबारे आधिकारिक घोषणा भएको छैन। यसअघि नै फ्रेन्चाइजले श्रीलंकाली पूर्व कप्तान कुमार सङ्गकारालाई डाइरेक्टर अफ क्रिकेट बनाइसकेको छ।

द्रविड़को राजस्थानसँगको सम्बन्ध पुरानो छ। उनले २०१२ र २०१३ मा टोलीको कप्तानी गरेका थिए भने २०१४ र २०१५ मा निर्देशक तथा मेंटरको भूमिकामा पनि योगदान दिएका थिए।

भारतीय टोलीसँगको यात्राः

  • नोभेम्बर २०२१ मा द्रविड़लाई भारतको हेड कोच बनाइएको थियो।

  • २०२३ मा उनको कार्यकाल समाप्त भए पनि टोलीको उत्कृष्ट प्रदर्शनका कारण २०२४ टी-२० विश्वकपसम्म लम्ब्याइयो।

  • द्रविड़को नेतृत्वमा भारतले एशिया कप २०२३ र टी-२० विश्वकप २०२४ दुवै जितेको थियो।

भारतलाई विश्वच्याम्पियन बनाउन सफल द्रविड़ फेरि पनि राजस्थान रोयल्ससँग हेड कोचको भूमिकामा फर्किएका थिए। तर, खराब प्रदर्शनपछि उनको यात्रामा फेरि पूर्णविराम लागेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.