चौथो खेलमा नेपाल ‘ए’ ले आसामसँग १८ रनले पराजित
काठमाडौं – गुवाहाटीस्थित ACA रंगशालामा भएको पाँच खेलको श्रृंखला अन्तर्गत नेपाल ‘ए’ ले भारतको आसाम विरुद्धको चौथो खेलमा १८ रनको हार बेहोरेको छ।
आसामले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो। कप्तान सुमित खाडिगाओन्कर ले ७० रनको योगदान गरे भने अर्का ओपनर ऋषिकेश तामुली ले ४६ रन जोड्दा निहार देकाले ३७ रन बनाएका थिए।
नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। कप्तान अनिल साहले ६७ रन बनाए। त्यस्तै, इशान पाण्डे २८, र संदीप जोरा, मोहम्मद आदिल आलम, शेर मल्लले समान ११ रन जोडे।
आसामका अब्दुलअजिज कुरैसी र अभिनव चौधरी ले समान तीन–तीन विकेट लिए भने, साद्दिक हुसैन ले एक विकेट लिए। नेपालका आकाश चन्द र बसिर अहमेद ले क्रमशः दुई र एक विकेट लिए।
यो खेलसँगै शृंखला २–२ को बराबरीमा आएको छ। पहिलो खेलमा नेपालले १५ रनको हार भोगेको थियो भने दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ र ९ रनको जीत निकालेको थियो।
५ खेलको श्रृंखलाको अन्तिम खेल सोमबार (भोलि) हुनेछ, जसले श्रृंखलाको विजेता तय गर्नेछ।

टिप्पणी लेख्नुहोस्