लेख विवरण

काठमाण्डु गोर्खाजद्वारा पाँच शीर्ष खेलाडी ‘गुडविल एम्बासडर’ नियुक्त

काठमाण्डु गोर्खाजद्वारा पाँच शीर्ष खेलाडी ‘गुडविल एम्बासडर’ नियुक्त

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । आसन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ ।

गोर्खाजले करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले ‘गुडविल एम्बासडर’ हरूलाई स्वागत गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत ठकुरीले खेलकुदमा युवालाई प्रेरित गर्न क्रिकेटबाहेक अन्य खेलहरू पनि आवश्यक रहेको हुनाले ‘गुडविल एम्बासडर’ मा फरक खेलका खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरिएको जनाए । उनले काठमान्डु गोर्खाज उपत्यकाको टोली भएकाले त्यसै अनुसार खेलाडी चयन गरिएको जानकारी गराए ।

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुँदै छ । करण केसीको कप्तानीमा रहेको गोर्खाजमा भीम सार्की, शाहब आलम, आदिल आलम अन्सारी, रशिद खान, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापामगर छन् ।

मन्डेकाजीले सन् २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका थिए । उनी अहिले नेपाली राष्ट्रिय कराते टोलीको काता प्रशिक्षक हुन् । विकेश सन् २०१२ यता नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका विकेशले सरस्वती, जावलाखेल युथ र मध्यपुर युथ एसोसिएसनबाट खेलिसकेका छन् । विकेशले नेपाल सुपर लिगको पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट उपाधि जितेका थिए ।

सन्तोषीले पनि १३ औं दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदमा एथलेटिक्सबाट स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । । सन्तोषीले २०२४ मा भएको पेरिस ओलम्पिकमा खेलेकी थिइन् ।

भलिबलकी पुनम सन् २०१९ यता राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी पुनम अहिले एभरेस्ट महिला भलिबल लिगका लागि पोखरा निन्जाजसँग आबद्ध छिन् । भलिबल लिग भदौ २० मा पोखरामै सुरु हुनेछ ।

सीताले अघिल्लो महिना दक्षिण कोरियामा भएको एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले छैटौं, सातौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सीताले आउट ल र दानभी फिल्ममा समेत अभिनय गरेकी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.