भक्तपुरमा आधुनिक फुटबल रंगशाला निर्माणका लागि प्रारम्भिक प्राविधिक प्रस्ताव पेश
काठमाडौं । भक्तपुरको जगातेमा आधुनिक फुटबल रंगशाला निर्माणका लागि नियुक्त परामर्शदाताले आफ्नो प्रारम्भिक प्राविधिक प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष प्रस्तुत गरेका छन्।
प्रस्तावमा अत्याधुनिक सुविधा सम्पन्न रंगशालाको प्रारम्भिक योजना र दृष्टिकोण समावेश गरिएको छ, जसले नेपालको फुटबल पूर्वाधारलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखिएको एन्फाले जनाएको छ।
प्रस्तुतीकरण कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यसमिति सदस्य पुरूषोत्तम थापा र बिकास नारायण श्रेष्ठ, कोषाध्यक्ष रविन्द्र जोशी, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाह सहभागी थिए। अधिकारीहरूले प्रस्तावबारे छलफल गर्दै यसको मुख्य पक्ष र नेपाली फुटबलमा पर्न सक्ने प्रभावबारे समीक्षासमेत गरेका थिए।
भक्तपुरमा आधुनिक रंगशाला निर्माणको यो पहल नेपाली फुटबल पूर्वाधार विकासतर्फको महत्वपूर्ण माइलस्टोन मानिएको छ। प्रस्तावित रंगशाला घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्