पाकिस्तानका विस्फोटक ब्याट्सम्यान आसिफ अलीद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । एशिया कप २०२५ सुरु हुनुअघि नै पाकिस्तान क्रिकेट सम्बन्धि ठूलो खबर आएको छ। पाकिस्तानका मिडिल–अर्डर फिनिशर र विस्फोटक ब्याट्सम्यान आसिफ अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
आसिफले १ सेप्टेम्बर, सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय करियरलाई बिदाइ दिएको घोषणा गरेका छन्। उनी ३३ वर्षका छन् र पाकिस्तानका लागि २०१८ देखि खेल्दै आएका थिए। उनले वनडे र टी–२० अन्तर्राष्ट्रियमा कुल ७९ खेल खेलेका छन्।
आसिफले पोस्टमा लेखेका छन्, “आज म अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भन्छु। पाकिस्तानको जर्सी लगाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। क्रिकेटको मैदानमा मेरो मुलुकको सेवा गर्नु मेरो लागि गर्वको पल हो।” यस अवसरमा उनले आफ्ना साथी खेलाडी, कोचिङ स्टाफ र समर्थकहरूलाई धन्यवाद पनि दिएका छन्।
आसिफले घरेलु क्रिकेट र विश्वभरका फ्रेन्चाइज लिगहरूमा खेल्दै आफ्नो क्रिकेट यात्रा जारी राख्ने बताएका छन्। उनका प्रमुख उपलब्धिहरूमध्ये २०२२ टी–२० विश्व कपको फाइनल र २०२१ सेमीफाइनलमा पाकिस्तान टोलीमा सहभागि हुन हो।
उनको अन्तर्राष्ट्रिय करियरको प्रारम्भ २०१८ मा वेस्ट इन्डिज विरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलबाट भएको थियो। त्यसै वर्ष उनी पाकिस्तान सुपर लिग (PSL)मा इस्लामाबाद युनाइटेडलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
आसिफलाई पाकिस्तान क्रिकेटको एक क्रान्तिकारी ब्याट्सम्यान मानिन्थ्यो। तर, टीम व्यवस्थापनले उनको क्षमताको पूर्ण प्रयोग नगरेको आलोचना गरिन्छ। वनडेमा प्रायः नम्बर ६ मा राखिएका कारण उनको खेलको वास्तविक प्रभाव कम देखिएको थियो। टी–२०मा उनले ५८ खेलमा प्रायः सीमित अवसर पाएका थिए।
उनका सम्झनलायक प्रदर्शनहरूमा २०२१ टी–२० विश्व कपमा अफगानिस्तानविरुद्ध अन्तिम दुई ओभरमा चार लगातार छक्का लगाएर पाकिस्तानलाई सेमीफाइनल पुर्याउनु र २०२२ एशिया कपमा भारतविरुद्ध ८ बलमा १६ रन बनाउँदै टोलीलाई फाइनलमा पुर्याउनु छन्।
तर, २०२२ टी–२० विश्व कप र त्यसपछिका प्रतियोगितामा अस्थिर प्रदर्शनले उनको करियरलाई असर गर्यो।
आसिफ अलीले २१ वनडेमा २५.४६ औसत र ३८२ रन बनाएका छन्, जसमा तीन अर्धशतक छन्। ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १५.१८ औसत र १३३.८७ स्ट्राइक रेटसहित ५७७ रन बनाए, उनको सर्वश्रेष्ठ स्कोर ४१* रहेको छ।

टिप्पणी लेख्नुहोस्