किरोन पोलार्डले सिपिएल इतिहासमा रचे नयाँ कीर्तिमान, ३ हजार रन र ९ सय पचास छक्का पुरा गर्ने तेस्रो खेलाडी बने
काठमाडौं, भदौ १६ –
वेस्टइन्डिजका पूर्व कप्तान तथा अनुभवी अलराउन्डर किरोन पोलार्डले क्यारिबियन प्रिमियर लिग (सिपिएल) २०२५ मा एक ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनी सिपिएलको इतिहासमा ३ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि यो उपलब्धि जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले मात्रै हासिल गरेका थिए।
सेन्ट किट्स एन्ड नेविस पेट्रिओट्सविरुद्धको खेलमा पोलार्डले यो कीर्तिमान बनाएका हुन्। ट्रिनबागो नाइट राइडर्सबाट खेलिरहेका पोलार्डले १ सय ३२ खेलमा ३ हजार ३२ रन पुरा गरेका छन्। साथै, उनले टी २० क्रिकेटमा ९ सय ५० छक्काको आँकडासमेत पार गरेका छन्, जुन कीर्तिमान क्रिस गेलपछि दोस्रो हो। गेलले ४ सय ६३ टी २० खेलमा १ हजार ५६ छक्का प्रहार गरेका थिए।
सिपिएल २०२५ को १९ औं खेलमा पोलार्डको ब्याट एकपटक फेरि बोल्यो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका ३८ वर्षीय पोलार्डले २९ बलमा ६५ रनको विस्फोटक इनिङ्स खेले। यो पारीमा उनले २ चौका र ८ छक्का प्रहार गरे। उनले निकोलस पूरनसँग मिलेर चौथो विकेटका लागि ९० रनको साझेदारी गरे। पूरनले ५२ रन बनाए। यी दुईको आक्रामक ब्याटिङकै कारण ट्रिनबागोले २० ओभरमा १ सय ७९ रन बनायो।
जवाफमा सेण्ट किट्स एन्ड नेविस पेट्रिओट्सको टिम २० ओभरमा १६७/६ रनमै रोकियो र ट्रिनबागोले यो खेल १२ रनले जित्यो।
किरोन पोलार्डको पावर-हिटिङ क्षमता विश्वभर चर्चित छ। टी २० क्रिकेटमा ९ सय ५० छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका छन्, जुन उनको लगातार प्रदर्शन र प्रभावशाली फिटनेसको प्रमाण हो। ३८ वर्षको उमेरमा पनि उनले आफ्नो क्षमताले विपक्षीलाई त्रसित बनाउन सक्षम छन्।
सिपिएल इतिहासमा पोलार्डको नाम सबैभन्दा सफल खेलाडीको सूचीमा अग्रस्थानमा आउँछ। उनी न केवल खतरनाक ब्याट्सम्यान, तर एक भरपर्दो अलराउन्डर र कुशल कप्तान पनि हुन्। ट्रिनबागो नाइट राइडर्सलाई च्याम्पियन बनाउनमा उनको योगदान उल्लेखनीय छ।
सिपिएल २०२५ मा पोलार्डको प्रदर्शनले फेरि एक पटक देखाएको छ कि उनी अझै पनि खेलको ठूला नामहरूमध्ये एक हुन्। ३ हजार रन र ९ सय ५० छक्काको कीर्तिमानले उनको करियरमा अर्को स्वर्णिम अध्याय थपेको छ। आगामी खेलहरूमा पनि उनीबाट नयाँ कीर्तिमानको अपेक्षा गर्न सकिन्छ।

टिप्पणी लेख्नुहोस्