भूकम्पपीडितको सहयोगमा अफगान क्रिकेट टोली, शारजाह टि २० को सम्पूर्ण म्याच फि दान
काठमाडौं, भदौ १६ –
अफगानिस्तान क्रिकेट टिमले मैदानमा आफ्नो जुझारूपन र समर्पणले विश्वभरका क्रिकेट प्रेमीहरूको मन जितिसकेको छ। तर यो पटक उनीहरूले मैदानबाहिर पनि असल मानवताको मिसाल प्रस्तुत गरेका छन्। यूएईविरुद्ध शारजाहमा भएको टि २० खेलपछि अफगान खेलाडीहरूले आफ्नो सम्पूर्ण म्याच शुल्क कुनार प्रान्तमा भर्खरै गएको विनाशकारी भूकम्पका पीडितहरूलाई सहयोगस्वरूप दान गर्ने घोषणा गरेका छन्।
यो खेल अफगानिस्तान, पाकिस्तान र यूएईबीच भइरहेको त्रिकोणीय टि २० श्रृंखलाको तेस्रो थियो। खेल सम्पन्न भएपछि अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले एक आधिकारिक वक्तव्य जारी गर्दै भनेको छ – “अफगान अटलानले कुनार भूकम्प पीडितहरूसँग ऐक्यबद्धता जनाएका छन्। टोलीले शारजाहमा खेलिएको म्याचको सम्पूर्ण म्याच फी र थप व्यक्तिगत दान रकम पीडित परिवारहरूलाई सहयोगस्वरूप दिने निर्णय गरेको छ।”
रविवार राति अफगानिस्तानको कुनार प्रान्त ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्पले हल्लिएको थियो। स्थानीय समय अनुसार राति ११:४७ बजे (नेपाली समय अनुसार १२:४७ बजे) आएको यो भूकम्पले दर्जनौं गाउँहरू ध्वस्त पारेको र अहिलेसम्म ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्रारम्भिक विवरणमा उल्लेख छ। हजारौं घाइते भएका छन्। यसै क्रममा छिमेकी नंगरहार प्रान्तमा पनि ४.५ म्याग्निच्युडको अर्को धक्काले थप क्षति पुर्याएको छ।
एिसबसीले जानकारी दिएको अनुसार कुनार बाहेक अफगानिस्तानको खोस्त प्रान्तमा चलिरहेको क्षेत्रीय लिस्ट-ए प्रतियोगितामा सहभागी खेलाडीहरू पनि राहत संकलनमा सक्रिय छन्। उनीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा दान संकलन गरी पीडितहरूलाई सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन्।
अफगान क्रिकेट टोलीको यो कदमले देखाउँछ कि उनीहरू केवल खेल मैदानमा मात्र सीमित छैनन्, समाजप्रति पनि उत्तरदायी छन्। संकटको समयमा देशवासीसँग ऐक्यबद्धता जनाउनु, विशेषतः पीडितहरूको सहयोगका लागि अघि आउनु, आफैंमा एक प्रेरणादायी कार्य हो।

टिप्पणी लेख्नुहोस्