दशरथ रंगशालामा हुने नेपाल र बङ्गलादेशबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारी पुरा
काठमाडौँ, भदौ २० — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आगामी भदौ २१ (सेप्टेम्बर ६) र २४ (सेप्टेम्बर ९) गते दशरथ रंगशालामा साँझ ५:३० बजे हुने भएका छन्। यी दुवै खेल FIFA International Window अन्तर्गत खेलाइनेछन्।
एन्फाका प्रवक्ता सुरेश शाह र प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।
प्रतियोगिताको मार्केटिङ तथा डिजिटल अधिकार AD Release Pvt. Ltd. लाई दिइएको छ भने प्रत्यक्ष प्रसारण Action Sports HD मार्फत हेर्न सकिनेछ।
दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ। टिकट दर निम्नानुसार निर्धारण गरिएको छ:
-
भिआइपी पारापिट: रु १,०००
-
सामान्य पारापिट: रु ५००
९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्री गरिनेछ। दर्शकहरूले खल्ती डिजिटल वालेट मार्फत टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै खेल हुने दुवै दिन दशरथ रंगशालाका सम्पूर्ण गेटहरू खुला राखिने छन्। दर्शकहरूले टिकटमा उल्लेख गरिएको गेट नम्बर प्रयोग गरी प्रवेश गर्नुपर्नेछ र टिकटको रङ अनुसारको सिटमा बस्ने व्यवस्था मिलाइएको छ।
बङ्गलादेशको राष्ट्रिय टोली सेप्टेम्बर ३ मा नेपाल आइपुगेको छ। टोलीले भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान तथा च्यासल रंगशालामा अभ्यास गरिरहेको छ।
दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ। यदि खेल बराबरीमा टुंगिएमा, दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिनेछ।
एन्फाले प्रतियोगिताको अनुमानित बजेट रु १,२७,५८,१६८ (अन्दाजी ९३,८१० अमेरिकी डलर) तोकेको छ। संघले प्रतियोगिता सफल बनाउन सञ्चारकर्मीहरू, समर्थकहरू तथा सरोकारवालाहरूको सहयोगको अपेक्षा गरेको छ।
एन्फा प्रवक्ता सुरेश शाहले भने, "हामीले तयारी पूरा गरेका छौं, अब समर्थन र सहभागिता तपाईंहरूको चाहिएको छ।"


टिप्पणी लेख्नुहोस्