लेख विवरण

ए डिभिजन लिग उपत्यकाबाहिर सञ्चालन गर्ने एन्फाको तयारी, सातदोबाटोमा बैठक सम्पन्न

ए डिभिजन लिग उपत्यकाबाहिर सञ्चालन गर्ने एन्फाको तयारी, सातदोबाटोमा बैठक सम्पन्न

काठमाडौँ, भदौ १९ — अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही २०८२ सालको पौष ९ गतेबाट सुरु हुने प्रस्तावित शहीद स्मारक ए डिभिजन लिग उपत्यकाबाहिर सञ्चालन गर्ने तयारीलाई लिएर आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा महत्वपूर्ण बैठक सम्पन्न गरेको छ।

बैठकमा लिग सञ्चालनका लागि प्रस्तावित जिल्लाका अध्यक्षहरू, जिल्ला पदाधिकारीहरू, र सम्बन्धित स्थानका केन्द्रीय सदस्यहरू सहभागी थिए।

एन्फाका महासचिव किरण राईले बैठकमा क्लबहरूसँग हालसम्म भएको छलफलका बारेमा जानकारी गराउँदै, ए डिभिजन लिगलाई उपत्यकाबाहिर पुर्‍याई डबल राउन्ड रोबिन ढाँचामा सञ्चालन गर्ने योजना स्पष्ट पारे।

बैठकमा लिग सञ्चालनका लागि आवश्यक तयारीबारे गहन छलफल भएको थियो। छलफलका मुख्य विषयहरूमा निम्न पक्षहरू समेटिएका थिए:

  • खेल मैदानको अवस्था र सुधार योजना

  • पूर्वाधार निर्माण तथा मर्मत

  • सुरक्षा तथा दर्शक व्यवस्थापन

  • मार्केटिङ्ग रणनीति

  • प्राविधिक पक्षहरूको व्यवस्थापन

बैठकमा सहभागी जिल्ला अध्यक्षहरूले आफ्ना-आफ्ना जिल्लामा रहेका मैदानहरूको वर्तमान अवस्था, त्यहाँका चुनौतीहरू र सम्भावित समाधान उपायहरू प्रस्तुत गरे। एन्फाले तिनीहरूको सुझाव संकलन गर्दै लिगलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउन आवश्यक रणनीति तयार गर्ने जनाएको छ।

यस बैठकले एन्फाको रणनीतिक योजना अनुसार फुटबल विकासलाई विकेन्द्रीकरण गर्दै मुलुकभर फैलाउने उद्देश्यलाई सघाउने विश्वास व्यक्त गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.