एसियाड बारे छलफल
काठमाडौं भाद्र २२, युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाअधिकारीहरुले पछिल्लो गतिबिधिका बारे जानकारी गराईएको छ । अगामी वर्ष जापानमा हुने एसियाली खेलकुद २०२६ मा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउन र सो प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यालाई समय सिमा भित्रै आयोजकलाई पठाउन मन्त्री चौधरीले ओलम्पिक कमिटीलाई निर्देशन दिनुभएको छ ।
त्यसै गरि ओलम्पिक कमिटीको कार्यसमितिबाट निर्णय भई परिषद् र मन्त्रालयमा पत्राचार भएका विषय यथाशक्य कार्यान्वयनका लागि परिषद् र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । ओलम्पिक कमिटीबाट पत्राचारमा भएका अबैध रुपमा कब्जा गरिएका सवारी साधन लगायत अन्य चल अचल सम्पत्ति फिर्ता गर्न कडा रुपमा निर्देशन दिनु भएको छ ।
उक्त छलफलमा तदर्थ समितिका ९ सदस्य टोली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सह–सचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो । नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे समेत छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको ।

टिप्पणी लेख्नुहोस्