एएफसी यू–२३ छनोटबाट नेपाल बाहिरियो, सिरियासँग ४–२ को हार
काठमाडौँ, भदौ २२ गते — ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह ‘के’को दोस्रो खेलमा समेत पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न खेलमा नेपाल सिरियासँग ४–२ गोल अन्तरले पराजित भयो।
सिरियाका लागि मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गरे। नेपालका तर्फबाट निराजन धामी र सुमित श्रेष्ठले एक/एक गोल फर्काए।
यसअघि समूह चरणको पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो। लगातार दुई खेलमा हार भोगेपछि नेपालको छनोटको सम्भावना समाप्त भएको छ।
नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।
प्रतियोगिता सिंगल राउन्ड रोविन आधारमा सञ्चालन भइरहेको छ। समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कपमा स्थान बनाउनेछ।

टिप्पणी लेख्नुहोस्