एन्फा निर्वाचन आउँदै, 'राजनीति-मुक्त नेतृत्व' को माग चुलिंदै
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आगामी वर्ष हुने तयारीमा छ। यससँगै नेपाली फुटबल क्षेत्रका सम्पूर्ण सरोकारवालाहरू — खेलाडी, प्रशिक्षक, जिल्ला संघहरू, क्लबहरू र समर्थकहरूले अबको नेतृत्व राजनीतिक प्रभावभन्दा मुक्त, फुटबलप्रेमी र विकासमुखी व्यक्ति हुनु पर्ने माग गर्दै आएका छन्।
"अब नेपाली फुटबलको नेतृत्व राजनीति होइन, योग्यताको आधारमा हुनुपर्छ," भन्ने भावना हाल फुटबल वृत्तमा तीव्र रुपमा फैलिएको छ।
भकुण्डो डट एनपीले सामाजिक संजाल फेसबुकमा लेखेको छ, "एन्फा निर्वाचन आउँदैछ। सबै फुटबलकर्मी, जिल्ला संघ, क्लब र सरोकारवालाहरूले सुनिश्चित गर्नुपर्छ कि यो खेलको नेतृत्व यस्तो व्यक्तिले गरुन् जसले राजनीतिको प्रभाव नभई खेलप्रति समर्पणका साथ नेपाली फुटबलको भविष्य बनाउने सपना बोकेका छन्।"
गत दशकमा नेपाली फुटबलमा देखिएको अस्थिरता, कमजोर लिग संरचना, यूवा विकासको अभाव र राष्ट्रिय टोलीको निरन्तर संघर्षको पछाडि राजनीतिक हस्तक्षेप र अपारदर्शी नेतृत्व प्रमुख कारण भएको धेरैको बुझाइ छ।
फुटबल विश्लेषकहरू भन्छन्, “अब नेपाली फुटबलमा संरचनात्मक सुधार, दीर्घकालीन योजना र पारदर्शी प्रणाली आवश्यक छ। त्यसका लागि सक्षम र खेलप्रेमी नेतृत्व अपरिहार्य छ।”
एन्फा निर्वाचनले अबको दशकको फुटबल दिशा निर्धारण गर्ने भएकाले, समग्र फुटबल समुदायको चासो र सक्रियता यसपटक झनै बढेको देखिन्छ।

टिप्पणी लेख्नुहोस्