राष्ट्रिय खेलाडी अञ्जन विष्टको भावुक सन्देश : "मेरो नेपाल आमा रोइरहनु भएको छ"
काठमाडौं, भदौ २७ – नेपालको राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट खेलाडी अञ्जन विष्टले हालै सामाजिक सञ्जालमार्फत देशको वर्तमान परिस्थितिबाट गहिरो पीडा व्यक्त गरेका छन्। क्रान्तिको ज्वाला दन्किरहेको, युवाहरू सहिद भइरहेका बेला, विदेशमा खेल्न पुगेका अञ्जनले आफ्ना भावनाहरू पोखेका छन्।
"के भन्नु दुर्भाग्य, मेरो नेपाल आमा रोइरहनु भएको छ," भन्दै सुरु भएको सन्देशमा उनले देशमा भइरहेको राजनीतिक र सामाजिक अवस्थाले आफुलाई मर्माहत बनाएको बताएका छन्। "अञ्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा देशको लागि बलिदान दिएर सहिद भएका छन्," उनले लेखे, "मलाई पनि कहाँ इच्छा थियो र मेरो नेपाल आमालाई रोइरहेको देख्ने?"
बंगलादेश लिगमा बाध्यतावश पुगेका
नेपालमा लामो समयदेखि राष्ट्रिय फुटबल लिग सञ्चालन नहुँदा आफू बाध्य भएर बंगलादेशको लिग खेल्न आएको उनले बताएका छन्। "दुई छाक टार्न र बाबा–आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु," अञ्जनले भने, "सम्पूर्ण खेलाडी अहिले बेरोजगार भएको अवस्थामा छन्।"
एन्फालाई खुला आग्रह
अञ्जनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अपील गर्दै भनेका छन्, "अब चाहिँ फुटबलको लिग ब्याक गराउने वातावरण चाँडो भन्दा चाँडो गरियोस्।" उनीजस्ता धेरै खेलाडी अहिले विदेश जान बाध्य छन् भने भित्रै मनमा देशको माटोमा नै केही गर्ने सपना बोकेका छन्।
सहिदहरूप्रति श्रद्धाञ्जली
सन्देशको अन्त्यमा अञ्जनले देशको लागि सहिद भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, भुटनदेवी माताले पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्ने कामनासमेत गरेका छन्।
उनको यो भावुक सन्देशले अहिलेको सामाजिक–राजनीतिक तथा खेलकुदको अवस्थालाई उजागर गरिदिएको छ। देशभित्रको अशान्ति, बेरोजगारी र फुटबल लिगको अभावले खेलाडीहरू मात्र होइन, समग्र खेल क्षेत्रमा नै नकारात्मक असर पारिरहेको देखिन्छ।

टिप्पणी लेख्नुहोस्