Gen Z आन्दोलनका सहिदहरूलाई विराटनगर किङ्सको श्रद्धाञ्जली
विराटनगर, भदौ २७ – नेपाली फुटबल क्लब विराटनगर किङ्सले हालै भएको Gen Z आन्दोलनको क्रममा ज्यान गुमाएका अमूल्य आत्माहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। क्लबले एक प्रेस विज्ञप्ति जारी गर्दै सहिदहरूको बलिदानलाई "आशाको दियो" को रूपमा चित्रण गरेको छ।
विज्ञप्तिमा भनिएको छ: Gen Z ले नेतृत्व गरेको आन्दोलनमा आफ्नो जीवन गुमाउनु भएका अमूल्य आत्माहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। यसै क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको हार्दिक प्रार्थना गर्दछौं। तपाईंहरूको बलिदान र साहस सधैं आशाको दियो भएर चम्किरहनेछ।"
विराटनगर किङ्सले युवा पुस्ताको यो आन्दोलनले ल्याएको चेतना र परिवर्तनको आवाजलाई सकारात्मक रूपमा लिएको छ। क्लबले सबै नेपालीलाई एक भएर न्यायपूर्ण र समावेशी नेपालको निर्माणमा लाग्न आह्वान समेत गरेको छ।
"यो क्षणलाई हामी सबै मिलेर एक भएर उज्ज्वल, सबल र न्यायपूर्ण नेपालको भविष्य निर्माणतर्फ अघि बढेर सम्मान गरौं," विज्ञप्तिमा उल्लेख गरिएको छ।
देशभर तीव्र रूपमा फैलिएको Gen Z आन्दोलनले राजनीतिक, सामाजिक र आर्थिक रूपमा नयाँ सोच र परिवर्तनको माग गरेको छ। विभिन्न क्षेत्रबाट सहानुभूति र समर्थन जनाउने क्रम बढ्दो छ।


टिप्पणी लेख्नुहोस्