डिफेन्डर अनन्त तामाङ बंगलादेशी क्लब फोर्टिस एफसीमा अनुबन्ध
काठमाडौं, भदौ २७ – नेपाली राष्ट्रिय फुटबल टिमका अनुभवी डिफेण्डर अनन्त तामाङ बंगलादेशको शीर्ष क्लब फोर्टिस एफसी सँग अनुबन्ध भएका छन्। उनी बंगलादेश प्रिमियर लिग फुटबलको २०२५–२६ सिजनका लागि अनुबन्धित भएका हुन्।
नेपालको राष्ट्रिय टिममा लामो समयदेखि डिफेन्स लाइन सम्हालिरहेका तामाङको यो अन्तर्राष्ट्रिय क्लब यात्रा उनको करियरको अर्को महत्वपूर्ण चरण मानिएको छ। उनले यसअघि भारतको ईष्ट बंगाल र नेपालको तीन ठूला क्लबहरूमा प्रभावशाली प्रदर्शन गरेका थिए।
बंगलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न पाउनु, अझ खेल सञ्चालन नहुने अवस्थामा रहेका नेपाली खेलाडीका लागि नयाँ अवसर पनि हो। नेपाली लिग नियमित नहुँदा धेरै खेलाडीहरू विदेशमा अवसर खोज्न बाध्य भइरहेका छन्।
फोर्टिस एफसीले अनन्तको अनुभव र कौशललाई ध्यानमा राख्दै उनलाई अनुबन्ध गरेको बुझिएको छ। क्लबको रक्षात्मक लाइन मजबुत बनाउने रणनीतिमा उनी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
अनन्तको नयाँ यात्राको सफलताको कामना गर्दै नेपाली फुटबल समर्थकहरूले सामाजिक सञ्जालमा शुभेच्छा व्यक्त गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्