जेनजी आन्दोलनमा घाइते फुटबल खेलाडी पवन शाहीप्रति नेपाल फुटबल खेलाडी संघको चिन्ता, सरकारसँग उपचार र क्षतिपूर्तिको माग
काठमाडौं, भदौ २९ — जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट खेलाडीहरू समेत प्रभावित भएको घटनाप्रति नेपाल फुटबल खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सुपर लिग (NSL) च्याम्पियन टोली ललितपुर सिटी एफसी का सदस्य तथा पूर्व ब्रिगेड ब्वाइज क्लब र एनआरटी का खेलाडी पवन शाही आन्दोलनको पहिलो दिन भदौ २३ गते बानेश्वरमा सुरक्षाकर्मीले चलाएको गोलीबाट गम्भीर घाइते भएको जनाइएको छ।
कालीकोट, मान्मका शाहीलाई छाती र हातमा गोली लागेकाे थियो। हाल उहाँ ट्रमा सेन्टर, काठमाडौं मा उपचाररत छन्। नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा नेतृत्वको टोलीले ट्रमा सेन्टर पुगेर शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। संघले शाहीको थप उपचारका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यसैबीच, सोही आन्दोलनकै क्रममा बाँके जिल्ला क्रिकेट टोलीका खेलाडी सुलभ राज श्रेष्ठको असामयिक निधनप्रति पनि संघले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।
संघको विज्ञप्तिमा भनिएको छ, "आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।"
फुटबल खेलाडी संघले सरकारसँग आन्दोलनमा घाइते खेलाडीहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न आग्रह पनि गरेको छ।
संघले लामो समयदेखि खेलाडीहरूलाई साथ दिँदै आएको जनाउँदै हाल देशको विषम परिस्थितिमा पनि खेलाडीहरूलाई मानसिक रूपमा मजबुत बनाउन र आवश्यक आर्थिक-सामाजिक सहयोग उपलब्ध गराउन संघ सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्