लेख विवरण

एशिया कपमा उत्कृष्ट प्रदर्शनपछि वरुण चक्रवर्ती आईसीसी टी–२०आई बलिङ र्‍याङ्किङको शिर्ष स्थानमा

एशिया कपमा उत्कृष्ट प्रदर्शनपछि वरुण चक्रवर्ती आईसीसी टी–२०आई बलिङ र्‍याङ्किङको शिर्ष स्थानमा

काठमाडौं – भारतीय स्पिनर वरुण चक्रवर्ती आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय बलिङ र्‍याङ्किङको शिर्ष स्थानमा पुग्ने तेस्रो भारतीय खेलाडी बनेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको एशिया कपमा प्रारम्भिक दुई खेलमा किफायती बलिङ गरेपछि उनले यो उपलब्धि हासिल गरेका हुन्।

३४ वर्षीय चक्रवर्तीले यूएईविरुद्ध दुई ओभरमा चार रन खर्चेर एक विकेट र पाकिस्तानविरुद्ध चार ओभरमा २४ रन खर्चेर एक विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। यसअघि सन् २०२५ फेब्रुअरीमा दोस्रो स्थानसम्म पुगेका उनले यसपटक न्यूजिल्याण्डका जेकब डफीलाई उछिन्दै पहिलो स्थान कब्जा गरेका हुन्।

यसैबीच, एशिया कपमा अन्य खेलाडीहरूले पनि उल्लेख्य प्रगति गरेका छन्। श्रीलङ्काका नुवान थुशारा छ स्थान उक्लिएर छैटौँ स्थानमा पुगेका छन्। पाकिस्तानका सफीयान मुकीम (११औं), अबरार अहमद (१६औं), भारतका अक्षर पटेल (१२औं), कुलदीप यादव (२३औं) र अफगानिस्तानका नुर अहमद (२५औं) समेत नयाँ स्थानमा उक्लिएका छन्।

तीव्र गतिका बलरहरूमध्ये भारतका जसप्रीत बुम्राह (४०औं), बंगलादेशका तन्जिम हसन (४२औं), इङ्ग्ल्यान्डका जोफ्रा आर्चर (१३औं) र दक्षिण अफ्रिकाका मार्को जान्सेन (३८औं) पनि माथि उक्लिएका छन्।

ब्याटिङतर्फ भारतका ओपनर अभिषेक शर्मा शीर्ष स्थान मजबुत बनाउन सफल भएका छन्। यूएईविरुद्ध १६ बलमा ३० रन र पाकिस्तानविरुद्ध १३ बलमा ३१ रन बनाउँदै उनले ८८४ रेटिङ अङ्क जोडेका छन्।

इङ्ग्ल्यान्डका फिल साल्ट र जोस बटलर क्रमशः दोस्रो र तेस्रो स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकाविरुद्ध म्यानचेस्टरमा साल्टले ६० बलमा अविजित १४१ रन बनाएका थिए, जुन इङ्ग्ल्यान्डको तर्फबाट सबैभन्दा ठूलो व्यक्तिगत स्कोर र सबैभन्दा छिटो शतक हो। बटलरले पनि ३० बलमा ८३ रन बनाएर करिअरकै उच्च स्थान पाएका छन्।

अन्य ब्याट्सम्यानहरूमा श्रीलङ्काका पाथुम निस्सन्का (६औं), दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेविस (११औं), अफगानिस्तानका रहमानुल्लाह गुर्बाज (१९औं), यूएईका मोहम्मद वसीम (२०औं), दक्षिण अफ्रिकाका एडन मार्क्रम (३०औं), भारतका शुबमन गिल (३९औं) र पाकिस्तानका साहिबजादा फर्हान (५५औं) पनि उक्लिएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.