काठमाडौँ – नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको नयाँ विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न सभाले विधान अनुमोदन गर्दै संघलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष विक्रम लामाका अनुसार नयाँ विधानअनुसार ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्नेछन्। साथै व्यवसायिक रूपमा प्रशिक्षणमा संलग्न हुने खेलाडीको सदस्यता स्वतः खारेज हुने व्यवस्था गरिएको छ। विधानले ए, बी, सी डिभिजनका खेलाडीलाई समेत संघको केन्द्रीय परिषद्मा मनोनयन गर्न सक्ने प्रावधान राखेको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र सदस्यता लिन पाउने व्यवस्था थियो। अबदेखि सबै स्तरका फुटबल खेलाडीले सदस्यता लिन सक्ने भएका छन्।
संघले एक महिनाभित्र नयाँ सदस्यता फाराम भर्न आह्वान गरेको छ। साथै, साधारण सभाले कार्यसमितिमा रिक्त पदाधिकारी र सदस्यहरूलाई मनोनयन गरेको छ। जसअनुसार अन्जना राना मगर उपाध्यक्ष, अनन्त तामाङ महासचिव, र रुपेश केसी, एरिक बिष्ट तथा अन्जन विष्ट सदस्य मनोनित भएका छन्।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरिएको थियो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र संघ अध्यक्ष लामाले उनीहरूलाई सम्मान गरेका थिए।
अवसरमा एन्फा अध्यक्ष नेम्वाङले फुटबल खेलाडी संघ खेलाडीहरूको हकहितका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे। पूर्व अध्यक्ष सिंहले खेलाडीले खेल्न पाउने अधिकारका लागि संघले गरेको दबाबको सकारात्मक मूल्यांकन गर्दै भविष्यमा पनि संघ निर्णायक भूमिकामा रहनुपर्ने धारणा व्यक्त गरे।
संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्याको समाधानमा संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए। नेपाल फुटबल खेलाडी संघ एन्फाको सदस्य संस्था हो र यसको पछिल्लो निर्वाचन २०७९ मा सम्पन्न भएको थियो।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्