लेख विवरण

श्रीलंकाका युवा क्रिकेटर दुनिथ वेलालगेले पिताको अन्तिम संस्कारमा सहभागी भएर राष्ट्रिय टोलीमा फर्किए

श्रीलंकाका युवा क्रिकेटर दुनिथ वेलालगेले पिताको अन्तिम संस्कारमा सहभागी भएर राष्ट्रिय टोलीमा फर्किए

अबुधाबी । एशिया कप २०२५ मा श्रीलंका र बंगलादेशबीच हुने सुपर–४ खेलअघि श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेलालगेले पिता सुरंगा वेलालगेको निधनको बाबजुद राष्ट्रिय टोलीमा फर्किएका छन्।

२२ वर्षीय वेलालगे अफगानिस्तानविरुद्धको खेल खेलिरहेको बेला आफ्नो पिता निधनको खबर पाएका थिए। तत्काल उनी श्रीलंका फर्केर अन्तिम संस्कारमा सहभागी भए। त्यसपछि शनिबारको श्रीलंका र बंगलादेशबीचकाे खेलअघि उनी पुनः टाेलीमा फर्किएका छन्।

दुनिथ बंगलादेशविरुद्धको खेलका लागि उपलब्ध रहने श्रीलंका क्रिकेटले पुष्टि गरेको छ। उनलाई टोलीमा सामावेस गर्न टीम म्यानेजर महिंदा हालंगोडे पनि सँगै यूएई पुगेका छन्।

अफगानिस्तानविरुद्धको खेलमा दुनिथले चार ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए। अफगानिस्तानका पूर्व कप्तान मोहम्मद नबीले उनको ओभरमा पाँच छक्का प्रहार गरे, जसमा एक नोबल पनि थियो। यो दुनिथको पाँचौ टी–२० अन्तर्राष्ट्रिय र एशिया कप २०२५ को पहिलो खेल थियो।

अफगानिस्तानविरुद्धको खेलपछि श्रीलंकाका पूर्व कप्तान र हालका मुख्य प्रशिक्षक सनथ जयसूर्याले दुनिथलाई पिता निधनको खबर दिएका थिए। जयसूर्याले दुनिथलाई समर्थन गर्दै फेसबुकमा भावनात्मक सन्देश लेखेका छन्: “यस कठिन समयमा, कृपया सम्झनुहोस् कि तपाईं एक्लाे हुनुहुन्न। म पिताको रूपमा तपाईंको साथमा हुनेछु, मार्गदर्शन गर्नेछु र प्रत्येक कदममा तपाईंको साथ दिनेछु। सम्पूर्ण टीम, देश र खेलप्रेमीहरू तपाईंको साथमा छन्।”

दुनिथको यो समर्पणले उनको टोली र देशप्रतिको प्रतिबद्धता झल्काउँछ, र यसले श्रीलंका टाेलीलाइ सुपर–४ काे खेलमा आत्मविश्वास पुर्‍याउने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.