लेख विवरण

महिला विश्वकप : अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८९ रनले हराउँदै विजयी सुरुवात

महिला विश्वकप : अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौंँ। इन्दौरको होल्कर क्रिकेट स्टेडियममा बुधबार सम्पन्न महिला एकदिवसीय विश्वकप 2025 को दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित ५० ओभर पूरा हुनुअघि ४९.३ ओभरमै अलआउट भए पनि उसले ३२६ रनको विशाल योगफल बनायो। अष्ट्रेलियाका लागि एश्ले गार्डनरले ८३ बलमा ११५ रनको शानदान शतकीय पारी खेलिन्। त्यस्तै, फिबी लिचफिल्डले ४५, एलिस पेरीले ३३, ताहिला म्याग्रा २६ र किम गार्थले ३८ रन जोडे।

न्युजिल्याण्डकी बलिङतर्फ ली ताहूहू र जस करले ३-३ विकेट लिए भने ब्रि इलिङ र अमेलिया करले २-२ विकेट हात पारे।

३२७ रनको लक्ष्य पछ्याउन उत्रिएको न्युजिल्याण्ड ४३.२ ओभरमै २३७ रनमा समेटियो। सुरुवातमै ओपनर ब्याटर सूजी बेट्स र जर्जिया प्लिमर बिना रन नै आउट भएपछि टोली दबाबमा परेको थियो। कप्तान सोफी डिभाइनले भने उत्कृष्ट प्रदर्शन गर्दै ११२ रनको शानदार इनिङ खेल्दै शतक प्रहार गरिन्, तर उनको पारीले पनि टोलीलाई जित दिलाउन सकेन। अन्य ब्याटरमध्ये ब्रुक हालीडेले २८, म्याडी ग्रिनले २० र इसाबेल गेजले २८ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका सोफी मोलिन्यु र एनाबेल सदरल्यान्डले समान ३-३ विकेट लिए भने अलाना किङले २ विकेट निकालिन्।

यस जितसँगै अष्ट्रेलियाले महिला विश्वकप 2025 मा दमदार सुरुवात गरेको छ भने न्युजिल्याण्ड भने पहिलो खेलमै पराजित भएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.