आईसीसी टी-२०आई खेलाडी रैंकिङमा नेपाली खेलाडीहरूको प्रगति
काठमाडौं।आइतबार प्रकाशित आईसीसी पुरुष टी-२०आई खेलाडी रैंकिङमा नेपाली खेलाडीहरूले ऐतिहासिक वेस्ट इन्डिजविरुद्धको सिरिज जितपछि उल्लेखनीय उचाल पाएका छन्।
नेपालका स्टार अलेराउन्डर दीपेन्द्र ऐरीले अलराउन्डरको सूचिमा चौथो स्थान कायम राख्दै पाँच रेटिङ अङ्क थपेका छन्। उनी अहिले २१४ अंकसहित शीर्षस्थानमा रहेका पाकिस्तानका साइम अयुबभन्दा २७ अंकले मात्र पछाडि छन्। यो उपलब्धिसँगै ऐरीले बलिङतर्फ पनि ठूलो प्रगति गरेका छन्। उनले १० स्थान उक्लिँदै ७२औँ स्थान हासिल गरेका छन्।
यसैबीच, नेपालका स्पिनर ललित राजबंशीले बलिङतर्फ उत्कृष्ट सुधार गर्दै छ स्थान उक्लिएर ५१औँ स्थानमा पुगेका छन्। वेस्ट इन्डिजविरुद्धको सिरिजमा उनले आफ्नो किफायती स्पेल र महत्त्वपूर्ण विकेटहरूद्वारा योगदान दिएका थिए।
नेपालका ओपनर आसिफ शेखले पनि ब्याटिङतर्फ तीन स्थान सुधार गर्दै ७७औँ स्थानमा पुगेका छन्। सिरिजमा लगातार स्थिर प्रदर्शन गरेका आसिफले टीमलाई बलियो सुरुवात दिलाउने काम गरे।
नेपालको हालको प्रगति ऐतिहासिक मानिन्छ किनभने पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध सिरिज जित्दा नेपाली खेलाडीहरूको प्रदर्शन विश्व क्रिकेटमा चर्चाको विषय बनेको हो।

टिप्पणी लेख्नुहोस्