टी–२० विश्वकप २०२६ : जिम्बाब्वे र नामिबिया छनोट, १७ टोली फाइनल
काठमाडौं। भारत र श्रीलंकाको संयुक्त आयोजनामा २०२६ मा हुने टी–२० विश्वकपका लागि हालसम्म १७ टोलीले आफ्नो स्थान पक्का गरेका छन्। यसमा जिम्बाब्वे र नामिबियाले पनि अन्तिम क्षणमा टिकट हात पारेका छन्।
२०२४ को विश्वकपमा सुपर–८ मा पुगेका राष्ट्रहरू सिधै छनोट भएका थिए भने केही टोलीले र्याङ्किङका आधारमा स्थान पाएका थिए। बाँकी स्थान क्षेत्रीय छनोटबाट टुंगो लगाइँदैछ। अफ्रिका क्षेत्रीय छनोटमा शीर्ष दुई टोली विश्वकपका लागि योग्य हुने प्रावधानअनुसार नामिबियाले पहिलो सेमिफाइनलमा तान्जानियालाई ६३ रनले पराजित गर्दै फाइनलसँगै विश्वकपमा स्थान सुरक्षित गर्यो।
त्यस्तै, जिम्बाब्वेले दोस्रो सेमिफाइनलमा केन्यालाई एकतर्फी खेलमा ७ विकेटले हराउँदै फाइनल प्रवेशसँगै विश्वकप टिकट सुनिश्चित गर्यो। पछिल्लो संस्करणमा चुकेको जिम्बाब्वे यसपटक विश्वकप फर्किएको छ।
हालसम्म फाइनल १७ टोलीमा आयोजक भारत र श्रीलंका बाहेक अष्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, बंगलादेश, पाकिस्तान, अमेरिका, आयरल्यान्ड, क्यानडा, इटाली, नेदरल्याण्ड, जिम्बाब्वे र नामिबिया रहेका छन्।
अब बाँकी तीन स्थान ईस्ट एशिया–प्यासिफिक क्षेत्रीय छनोटमार्फत टुंगो लाग्नेछ। यसमा ओमान, युएई, कतार, नेपाल, सामोआ, कुवेत, मलेसिया, जापान र पपुवा न्यु गिनी प्रतिस्पर्धामा छन्। टोलीहरूलाई तीन–तीनको समूहमा विभाजन गरिएको छ र खेलहरू अक्टोबर ८ देखि ओमानको अल अमरात क्रिकेट ग्राउण्डमा हुनेछन्।

टिप्पणी लेख्नुहोस्