लेख विवरण

महिला विश्वकपमा बांग्लादेशको विजयी सुरुवात, पाकिस्तान ७ विकेटले पराजित

महिला विश्वकपमा बांग्लादेशको विजयी सुरुवात, पाकिस्तान ७ विकेटले पराजित

काठमाडौं। बांग्लादेशकी बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै महिला एकदिवसीय विश्वकपमा पाकिस्तानलाई पराजित गरेका छन्। बिहीबार भएको खेलमा पाकिस्तानलाई बांग्लादेशले ३८.३ ओभरमै १२९ रनमा समेट्यो र ३१.१ ओभरमै ३ विकेटको क्षतिमा १३१ रन बनाउँदै ७ विकेटले सहज जित निकाल्यो।

बांग्लादेशका लागि २० वर्षीया तेज बलर मारुफा अख्तरले ३१ रन खर्चिएर २ विकेट लिइन्। उनले पहिलो ओभरमै पाकिस्तानका ओपनर ओमाइमा सोहेलसिद्रा अमिनलाई शून्यमै आउट गर्दै पाकिस्तानलाई ठूलो धक्का दिइन्। पाकिस्तानको स्कोर पहिलो ओभरपछि २ रनमा २ विकेट थियो।

त्यसपछि बायाँ हातकी स्पिनर नाहिदा अख्तरले मुनीबा अली (१७) र रमिन शमीम (२३)लाई आउट गर्दै पाकिस्तानलाई थप दबाबमा पारिन्।

लक्ष्य पछ्याउने क्रममा बांग्लादेशको सुरुवात राम्रो भएन। ७ रनमै फरगाना हक आउट भइन् भने ३५ रनमा दोस्रो विकेट खस्यो। तर त्यसपछि रुबया हैदरले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ५४ रन प्रहार गरिन्। कप्तान निगार सुल्ताना (२३) सँगै उनले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याइन्।

अन्तिममा सोभना मोस्टारीले नटआउट २४ रन जोड्दै बांग्लादेशलाई सहज जित दिलाइन्। पाकिस्तानतर्फ तीन बलरहरूले १-१ विकेट लिन सफल भए।

पाकिस्तानी ब्याटरहरूले नियमित अन्तरालमा विकेट गुमाउँदा टोलीलाई सम्हाल्न सकेनन्। उनीहरूको पारीमा जम्मा १४ चौका मात्र लागे। यस क्रममा नशारा सन्धू हिट विकेट आउट हुँदै महिला क्रिकेट इतिहासमै यस्तो अनौठो तरिकाले आउट हुने दोस्रो खेलाडी बनिन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.