लेख विवरण

बाबर आजम र मोहम्मद रिजवानको पुनरागमन : साउथ अफ्रिका विरुद्ध पाकिस्तानको टेस्ट टोली घोषणा

बाबर आजम र मोहम्मद रिजवानको पुनरागमन : साउथ अफ्रिका विरुद्ध पाकिस्तानको टेस्ट टोली घोषणा

काठमाडौं – पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले आगामी महिनामा साउथ अफ्रिका विरुद्ध खेलिने दुई टेस्ट खेलको श्रृंखलाका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ। यस टोलीमा बाबर आजम र मोहम्मद रिजवानले पुनरागमन गरेका छन्।

टेस्ट श्रृंखला १२ अक्टोबरबाट सुरु हुनेछ र वर्ल्ड टेस्ट च्याम्पियनशिप (WTC) 2025-27 को हिस्सा हुनेछ। पाकिस्तान टोलीको कप्तानी शान मसूदले सम्हालेका छन्।

हालै सम्पन्न एशिया कप २०२५मा टोलीमा स्थान नपाएका बाबर आजम र रिजवानलाई टेस्ट श्रृंखलामा समावेश गरिएको छ। बाबर आजमले मिडिल अर्डरलाई स्थिरता दिनेछन् भने रिजवान विकेटकीपरको भूमिकामा रहनेछन्। टोलीमा शाहीन शाह अफ्रिदी, हसन अली र अबरार अहमद जस्ता बलर्स समावेश छन्, जसले विपक्षी ब्याट्सम्यानलाई चुनौती दिनेछन्। ओपनिंग जिम्मेवारी इमाम-उल-हक र अब्दुल्ला शफीकले लिनेछन् भने मिडिल अर्डरमा सऊद शकील र सलमान अली आगा जस्ता खेलाडी टोलीलाई मजबुती दिनेछन्। कप्तान शान मसूद पनि ब्याटिङमा निर्णायक योगदान दिने तयारीमा छन्।

यस टेस्ट टोलीमा तीन नयाँ खेलाडीलाई मौका दिइएको छ। बायाँ हाथका स्पिनर आसिफ अफ्रिदी, फैसल अकरम र विकेटकीपर–ब्याट्सम्यान रोहेल नजीरलाई पहिलोपटक टेस्ट टोलीमा समावेश गरिएको हो। यी युवा खेलाडीहरूले डेब्यु गर्ने सुनौलो अवसर पाउनेछन्। विशेषगरी फैसल अकरम र आसिफ अफ्रिदी जस्ता युवा बलर्सले स्पिन विभागमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

पाकिस्तान टोली ८ अक्टोबरसम्म ट्रेनिङ क्याम्पमा अभ्यास गर्नेछ। हेड कोच अजहर महमूद र नेशनल क्रिकेट अकादेमी (NCA) का प्रशिक्षकहरूको मार्गदर्शनमा खेलाडीहरूले फिटनेस र रणनीतिमा काम गर्नेछन्। एशिया कपबाट फर्किने खेलाडीहरू ४ अक्टोबरमा क्याम्पमा सामेल हुनेछन्।

  • पहिलो टेस्ट: १२–१६ अक्टोबर, लाहोर, गद्दाफी स्टेडियम

  • दोस्रो टेस्ट: २०–२४ अक्टोबर, रावलपिंडी, रावलपिंडी क्रिकेट स्टेडियम

टेस्ट श्रृंखलापछि दुवै टोलीबीच २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म तीन टी–२० र ४–८ नोभेम्बरसम्म तीन वनडे खेल हुनेछन्। सीमित ओभरको श्रृंखलाका लागि टोली घोषणा भने पछि गरिनेछ।

पाकिस्तानको टोली:
शान मसूद (कप्तान), आमिर जमाल, अब्दुल्ला शफीक, अबरार अहमद, आसिफ अफ्रिदी, बाबर आजम, फैसल अकरम, हसन अली, इमाम-उल-हक, कामरान गुलाम, खुर्रम शहजाद, मोहम्मद रिजवान (विकेटकीपर), नोमान अली, रोहेल नजीर (विकेटकीपर), साजिद खान, सलमान अली आगा, सऊद शकील र शाहीन शाह अफ्रिदी।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.