डेवाल्ड ब्रेविसको ऐतिहासिक पारी, अष्ट्रेलियाविरुद्ध टी-२० मा बनाए किर्तिमान
काठमाडौं। ‘बेबी एबी’ भनेर चिनिने दक्षिण अफ्रिकाका युवा ब्याट्सम्यान डेवाल्ड ब्रेविसले अष्ट्रेलियाविरुद्ध ऐतिहासिक पारी खेलेका छन्। मंगलवार डार्विनमा भएको दोस्रो टी-२० खेलमा उनले मात्र ४१ बलमै शतक प्रहार गर्दै अष्ट्रेलियाविरुद्ध सबैभन्दा छिटो टी-२० शतकको कीर्तिमान बनाए।
२२ वर्षीय ब्रेविसले ५६ बलमा १२ चौका र ८ छक्कासहित १ सय २५ रनको विस्फोटक इनिङ्स खेले। यसअघि अष्ट्रेलियाविरुद्ध सबैभन्दा छिटो टी-२० शतक न्यूजील्याण्डका मार्टिन गप्टिलको नाममा थियो, जसले २०१८ मा ४९ बलमा शतक बनाएका थिए।
ब्रेविसको यो इनिङ्ससँगै दक्षिण अफ्रिकाले टी-२० इतिहासमै अष्ट्रेलियाविरुद्ध सबैभन्दा ठूलो स्कोर बनायो – २१८/७। यसअघि टोलीको उच्च स्कोर २०१ रन थियो।
खेलको सुरुवातमा दक्षिण अफ्रिकाले ५७ रनमै ३ विकेट गुमाएको थियो। तर त्यसपछि ब्रेविसले खेलको मोड नै परिवर्तन गरिदिए। उनले २५ बलमा अर्धशतक बनाउँदै आक्रामक शैलीमा ब्याटिङ गरे र त्यसलाई शतकमा रूपान्तरण गरे।
आईपीएलमा चेन्नई सुपरकिंग्सका लागि खेल्ने ब्रेविसले विशेषगरी अष्ट्रेलियन बलर ग्लेन म्याक्सवेल र जोश हेजलवुडलाई आक्रामक रुपमा खेले। म्याक्सवेलको एक ओभरमा उनले ५ बलमा २३ रन जोडे भने हेजलवुडको अर्को ओभरमा ५ बलमा १७ रन बनाए।
यो शतक दक्षिण अफ्रिकाको तर्फबाट दोस्रो छिटो टी-२० शतक हो। सबैभन्दा छिटो शतक डेविड मिलरले ३५ बलमा बनाएका थिए।
ब्रेविसको यो शानदार प्रदर्शनले उनलाई अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अब एक नयाँ शक्ति रुपमा चिनाएका छन्। अब हेर्न बाँकी छ, आगामी खेलहरूमा उनले यो प्रदर्शनलाई कत्तिको निरन्तरता दिन सक्छन्।

टिप्पणी लेख्नुहोस्