२१ मिनेटमै शतक! ग्लेन चैपलको अविश्वसनीय कीर्तिमान आज पनि अटुट
काठमाडौं – क्रिकेटप्रेमीहरूले सामान्यतः सबैभन्दा कम बलमा बनाइएको शतकको कुरा त जान्ने गर्छन्, तर तपाईंलाई थाहा छ – सबैभन्दा कम समय मा बनाइएको शतक कति मिनेटमा बनेको हो? र त्यो कारनामाको नायक को थिए?
धेरैलाई विश्वास नलाग्न सक्छ, तर इंग्ल्याण्डका पूर्व क्रिकेटर ग्लेन चैपल ले सन् १९९३ मा २१ मिनेटमै शतक बनाउँदै फर्स्ट-क्लास क्रिकेटमा अनौठो इतिहास रचेका थिए। यस ऐतिहासिक पारीमा उनले केवल २७ बलमा १० चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए।
यस्तो थियो त्यो अविश्वसनीय इनिङ्स
सन् १९९३ को जुलाई १५ देखि १९ सम्म इंग्ल्याण्डको फर्स्ट-क्लास क्रिकेट प्रतियोगितामा लंकाशर र ग्लेमोर्गन बीच चारदिवसीय खेल भइरहेको थियो। पहिलो पारीमा लंकाशरले ३१० रन बनायो। जवाफमा ग्लेमोर्गनले ३०३ रनमा इनिङ्स डिक्लेयर गर्यो।
लंकाशरले ७ रनको सानो अग्रता लिएर दोस्रो पारीको सुरुवात गर्यो। यत्तिकैमा टिमले आफ्ना अलराउन्डर ग्लेन चैपल लाई ओपनिङ गर्न पठायो। अनि त्यसपछि जो भयो, त्यो आजसम्म क्रिकेट इतिहासको रोमाञ्चक कथामध्ये एक बनिसकेको छ।
२१ मिनेटमै शतक! त्यो पनि यति आक्रामक ढंगले कि विपक्षी बलरहरू दंग परे। चैपलले मैदानका सबै कुनाबाट चौका–छक्का प्रहार गर्दै दर्शकलाई झन रोमाञ्चित बनाए।
टॉम मूडीको कीर्तिमान तोडियो
यसअघि सबैभन्दा कम समयमै शतक बनाउने कीर्तिमान अष्ट्रेलियाका टॉम मूडी को नाममा थियो। उनले सन् १९९० मा ग्लेमोर्गनका लागि खेल्दै वारविकशर विरुद्ध मात्र २६ मिनेटमा शतक पुरा गरेका थिए। तर ३ वर्षपछि ग्लेन चैपलले त्यो रेकर्ड तोड्दै इतिहास रचिदिए।
अझै अटुट छ यो रेकर्ड
आज दुई दशकभन्दा बढी समय बितिसक्दा पनि फर्स्ट-क्लास क्रिकेटमा सबैभन्दा छिटो समयमै बनाइएको शतक को यो कीर्तिमान अझै कायम छ। टी-20 क्रिकेटको युगमा जहाँ ब्याट्सम्यानहरू छिटो रन बनाउने प्रतिस्पर्धामा छन्, त्यहाँ पनि यो २१ मिनेटको रेकर्ड अचम्मको विषय बनेको छ।

टिप्पणी लेख्नुहोस्