लेख विवरण

दक्षिण एसियामा पहिलो पटक SAFF फुटसल च्याम्पियनसिप थाइल्यान्डमा हुने

दक्षिण एसियामा पहिलो पटक SAFF फुटसल च्याम्पियनसिप थाइल्यान्डमा हुने

काठमाडौं, असोज १८ — दक्षिण एसियाली फुटबल महासंघ (SAFF) ले पहिलोपटक पुरुष तथा महिला दुवैका लागि SAFF फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ। सन् २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने यो ऐतिहासिक प्रतियोगिता दक्षिण एसियामा फुटसल प्रवर्द्धन गर्नका लागि एक महत्वपूर्ण कदम मानिएको छ।

यस च्याम्पियनसिपसँगै प्रशिक्षक र रेफ्रीहरूका लागि क्षमता विकास तालिमहरू पनि आयोजना गरिनेछन्। विश्वभर लोकप्रिय रहँदै आएको फूटसल दक्षिण एसियामा भने अपेक्षित रूपमा विकास हुन सकेको छैन। यो अवस्थालाई परिवर्तन गर्न SAFF प्रतिवद्ध रहेको बताइएको छ।

“फिफाका सदस्य भएका नाताले सबै राष्ट्रिय संघहरूले फुटसल र बिच फुटबलमा पनि संलग्न हुनु आवश्यक हुन्छ। तर, दक्षिण एसियामा यी खेलहरूमा सहभागिता अत्यन्तै कम देखिएको छ,” SAFF का महासचिव पुरुषोत्तम कट्टेलले भने।

उहाँले थपे, “अन्य क्षेत्रको तुलनामा दक्षिण एसियामा फुटसलसँग संलग्न आधिकारिक व्यक्तिहरूको संख्या पनि निकै कम छ। त्यसैले हामीले क्षेत्रीय स्तरमै फुटसलको विकास आरम्भ गर्नु आवश्यक देख्यौं। कार्यसमितिले निर्णय पारित गरिसकेको छ, र यस ऐतिहासिक आयोजनामा फिफा र एएफसीको सहयोगप्रति हामी आभारी छौं।”

SAFF का अनुसार यो प्रतियोगिता फुटसलको जग मजबुत बनाउन, र दक्षिण एसियाली युवामा बढ्दो चासोलाई संरचित प्रतियोगिता तथा तालिमका माध्यमबाट सकारात्मक दिशामा लैजान मद्दत पुर्‍याउनेछ।

प्रतियोगितासम्बन्धी थप विवरण निकट भविष्यमा साझा गरिनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.