“राष्ट्रिय टिमको जर्सी सम्झौता पारदर्शी बनाओस्” — कार्यसमिति सदस्य अनिल अधिकारीको नेपाल क्रिकेट संघलाई खुला प्रश्न
काठमाडौं, असोज १८ — बागमती प्रदेश क्रिकेट संघका क्रिकेट डाइरेक्टर तथा कार्यसमिति सदस्य अनिल अधिकारीले राष्ट्रिय टिमको जर्सी प्रायोजन सम्झौता सम्बन्धी विषयमा नेपाल क्रिकेट संघ (CAN) सँग सार्वजनिक रूपमा स्पष्टता मागेका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै लेखेका छन्:
“राष्ट्रको गौरव, राष्ट्रको शान — सबै नेपालीले माया गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको सौजन्य गर्न नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण अनि नेपाल आयल निगमजस्ता प्रतिष्ठित सरकारी संस्थाहरू वर्षेनि १० करोड रुपैयाँभन्दा बढी दिन तयार थिए भन्ने सुन्नमा आएको छ। तर आफूलाई आफैंलाई चिनेका केही व्यक्तिहरूले एक निजी कम्पनीसँग कति रकममा सम्झौता गरे? त्यो पारदर्शी छैन।”
“My jersey, My price!! Shame Shame Puppy Shame… All the corrupt know your name!!”
अधिकारीले उक्त सम्झौतामा पारदर्शिता नदेखिएको, संघभित्रकै केही व्यक्ति/समूहले निजी हितका लागि निर्णय लिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
उनी थप लेख्छन्, “जसले नेपालको झन्डा बोकेको जर्सी लगाउँछन्, तिनीहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो। त्यस जर्सीलाई व्यापारको साधन बनाउनु दुर्भाग्यपूर्ण छ। यदि कुनै टेन्डर प्रक्रिया नभएको हो भने — यसबारे स्पष्ट खुलासा हुनु अत्यावश्यक छ।”
CAN लाई प्रश्न:
अनिल अधिकारीले नेपाल क्रिकेट संघसँग निम्नलिखित प्रश्नहरू सोधेका छन्:
-
सरकारी संस्थाको प्रस्ताव अस्वीकार गरिएको हो भने, किन? त्यसको लिखित प्रमाण सार्वजनिक गरिनेछ कि गरिँदैन?
-
निजी कम्पनीसँग भएको सम्झौतामा कति रकममा सहमति भएको हो? त्यो रकम देशकै तर्फबाट आएको भन्दा किन कम भयो?
-
के उक्त सम्झौता टेन्डर वा खुला प्रतिस्पर्धा प्रक्रियामार्फत भएको हो?
-
कार्यसमिति सदस्यहरूसँग राय लिइएको थियो कि निर्णय गुटगत रूपमा गरियो?
प्रश्न उठाउँदै जिम्मेवारी माग
अनिल अधिकारीले अन्त्यमा भनेका छन्, “यदि हामी आफैं पारदर्शी बन्न सक्दैनौं भने जनताको विश्वास गुम्न धेरै समय लाग्दैन। राष्ट्रिय टिम केवल संस्थाको होइन — देशको सम्पत्ति हो। त्यसैले, यसको निर्णय पनि राष्ट्रिय हितमै हुनुपर्छ, न कि व्यक्तिगत फाइदाका लागि।”
नेपाल क्रिकेट संघले भने यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

टिप्पणी लेख्नुहोस्