एएफसी एसियन कप छनोटमा नेपाल ३–१ ले पराजित, दोस्रो लेग पनि भियतनाममै हुने
काठमाडौँ, असोज २३ गते — एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गतको पहिलो लेगमा नेपाल घरेलु टोली भियतनामसँग ३–१ ले पराजित भएको छ। हो चिमिन सहरस्थित गो डाउ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपालले पहिलो हाफमा सशक्त खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा प्रतिद्वन्द्वीको दबाब झेल्न सकेन।
खेलको नवौँ मिनेटमा भियतनामका न्गुएन टिन लिनले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि नेपालका सानिस श्रेष्ठले १७औँ मिनेटमा आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए। तर दोस्रो हाफमा भियतनामका फाम जुआन मान्ह (६७’) र न्गुएन भान भी (७२’) ले एक–एक गोल थप्दै जित सुनिश्चित गरे।
नेपालका लकेन लिम्बु पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो, जसको असर खेलको बाँकी समयभर देखियो।
यस हारसँगै नेपालले समूह ‘एफ’ मा लगातार तेस्रो पराजय बेहोरेको छ। यसअघि नेपाल लाओससँग २–१ र मलेसियासँग २–० ले पराजित भएको थियो।
समूह ‘एफ’ मा अहिले मलेसिया नौ अङ्कसहित शीर्ष स्थानमा छ भने भियतनाम दुई जितसहित ६ अङ्कमा दोस्रो स्थानमा उक्लिएको छ। लाओस तीन अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने नेपाल अंकविहीन तल्लो स्थानमा छ।
नेपालले दोस्रो लेग असोज २८ गते (अक्टोबर १४) भियतनामकै मैदानमा खेल्नेछ। यो खेल काठमाडौँको दशरथ रंगशालामा हुनुपर्ने भए पनि एएफसीले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अयोग्य ठहर गरेपछि दोस्रो लेग पनि भियतनाममै सारिएको हो।

टिप्पणी लेख्नुहोस्