स्वर्ण पदक विजेता एरिका गुरुङलाई नेपाल प्रहरीले गर्यो सम्मान, फ्रान्स जाने खेलाडीको बिदाई
काठमाडौं, असोज २५ – मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी नेपाली खेलाडी एरिका गुरुङलाई नेपाल प्रहरीले शुक्रबार सम्मान गरेको छ।
विश्व कराते महासंघ (WKF) को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजित ‘कराते वान सिरिज A’ प्रतियोगितामा सहभागिता जनाउँदै एरिकाले नेपालका लागि पहिलो पटक स्वर्ण पदक जितेकी हुन्।
कुमिते ६८ केजीमाथिको स्पर्धामा उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन्।
सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० को स्कोरमा पराजित गर्दै स्वर्ण कब्जा गरेकी थिइन्।
एरिकाले यस प्रतियोगितामा स्वर्ण जितेसँगै ‘WKF कराते वान सिरिज A’ मा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्ने गौरवसमेत हासिल गरेकी छन्।
फ्रान्स जाने खेलाडीलाई बिदाई
यसै क्रममा असोज ३१ देखि कात्तिक २ गतेसम्म फ्रान्सको पेरिसमा हुने ‘WKF सिनियर विश्व च्याम्पियनसिप’ को छनोट चरणमा सहभागी हुने नेपाली खेलाडीहरू स्वनिम मानन्धर र सविना श्रेष्ठलाई पनि बिदाई गरिएको छ।
फ्रान्स कराते महासंघको आयोजनामा हुने उक्त प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्।
१३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता तथा हाल राष्ट्रिय टिमका प्रशिक्षक मन्दे काजी श्रेष्ठले खेलाडीहरूको तयारी र सहभागिताबारे जानकारी दिएका थिए।
उनीहरूलाई नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धीविक्रम शाहले सम्मान, बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएका थिए।

टिप्पणी लेख्नुहोस्