श्रीलंका र न्यूजिल्याण्डबीचको महिला वानडे विश्वकप खेल वर्षाको कारण रद्द
कोलम्बो — कोलम्बोको आर. प्रेमदासा रंगशालामा भएको श्रीलंका र न्यूजिल्याण्डबीचको महिला वानडे विश्वकप खेल वर्षाको कारण नो रिजल्टमा सकिएको छ।
श्रीलंकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित ५० ओभरमा श्रीलंकाले छ विकेटको क्षतिमा २५८ रन बनायो। तर, न्यूजिल्याण्डको पारी सुरु हुनुअघि नै वर्षा सुरु भई खेल रोकियो। केही समयपछि वर्षा रोकिएर मैदानबाट कभर हटाउने काम सुरु भए पनि पुनः तीव्र वर्षा भएपछि अन्ततः खेल नो रिजल्ट घोषणा गर्नुपर्यो।
अंक तालिकाको स्थिति
खेल रद्द भएपछि श्रीलंका र न्यूजिल्याण्डले एक–एक अंक बाँडे। यो यस विश्वकपमा दोस्रो पटक हो जब श्रीलंकालाई वर्षाका कारण अंक बाँड्नुपरेको छ।
चार खेलमध्ये न्यूजिल्याण्डले एक जित, दुई हार र एक नो रिजल्ट खेलेको छ। तीन अंकका साथ उनीहरू तालिकाको पाँचौँ स्थानमा छन्। श्रीलंकाले चार खेलमा दुई हार र दुई नो रिजल्ट खेलेको छ। दुई अंकका साथ श्रीलंका सातौँ स्थानमा छ। रोचक कुरा के छ भने, श्रीलंका अझैसम्म प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन तर दुई अंक भने प्राप्त गरिसकेको छ।
श्रीलंकाको पारी
श्रीलंकाको इनिङ्समा कप्तान चामारी अटापट्टुले ५३ रनको अर्धशतक प्रहार गरिन् भने निलाक्षिका सिल्भाले अविजित ५५ रन जोडिन्। हसिनी परेराले ४४ र विष्मी गुणरत्नेले ४२ रनको योगदान दिए।
अटापट्टुले ७२ बलमा सात चौका प्रहार गर्दै संयमपूर्ण ब्याटिङ गरिन्। निलाक्षिकाले भने टुर्नामेन्टकै सबैभन्दा छिटो अर्धशतक प्रहार गर्दै २८ बलमा सात चौका र एक छक्का हिर्काइन्।
विष्मी गुणरत्ने र अटापट्टूले मिलेर १०१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो सुरुवात दिलाएका थिए।
न्यूजिल्याण्डका लागि सोफी डिभाइनले तीन विकेट लिइन्, ब्री इलिङले दुई विकेट र रोजमेरी मेयरले एक विकेट हात पारिन्।
स्रोत: एजेन्सी

टिप्पणी लेख्नुहोस्