बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीलाई ह्यामस्ट्रिङ चोट — ‘एल क्लासिको’ गुम्ने सम्भावना
बार्सिलोना — बार्सिलोनाका अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्की ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट केही समय टाढा रहनुपर्ने भएको छ। यो चोटका कारण उनी यो महिनाको अन्त्यतिर हुने रियल म्याड्रिडविरुद्धको एल क्लासिको खेल गुमाउने सम्भावना रहेको छ।
३७ वर्षीय लेवान्डोव्स्कीले आइतबार पोल्यान्डका लागि लिथुआनियाविरुद्धको विश्वकप छनोट खेलमा गोल गर्दै २–० को जित दिलाएका थिए। तर, चोटका कारण उनी यस साता हुने ला लिगा खेलमा गिरोनाविरुद्ध मैदानमा नदेखिने भएका छन्।
बार्सिलोनाले अर्को मङ्गलबार च्याम्पियन्स लिगमा ओलिम्पियाकोससँग खेल्नेछ र त्यसपछि २६ अक्टोबरमा एल क्लासिकोका लागि बर्नाबेउ यात्रा गर्नेछ।
बार्सिलोनाले लेवान्डोव्स्कीको अनुपस्थितिको अवधि खुलाएका छैनन्, तर स्पेनी मिडियाका रिपोर्टअनुसार उनी करिब चार सातासम्म बाहिर रहन सक्ने अनुमान गरिएको छ।
क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “रोबर्ट लेवान्डोव्स्कीको बायाँ तिघ्राको ह्यामस्ट्रिङमा चोट लागेको छ। उनी केही समय खेल मैदानबाट टाढा रहनेछन्, र उनको पुनःस्थापनाको अवधि चोटको प्रगतिमा निर्भर हुनेछ।”
लेवान्डोव्स्कीले यस सिजन ला लिगाका नौ खेलमा चार गोल गरेका छन्। उनी हाल बार्सिलोनाका अन्य घाइते खेलाडीहरू — राफिन्हा, गाभी, डानी ओल्मो, मार्क-आन्द्रे टेर स्टेगन र जोआन गार्सिया —सँगै बाहिर रहेका छन्।
तर, सुखद खबर यो छ कि लामिन यामाल र फेर्मिन लोपेज प्रशिक्षणमा फर्किएका छन्।

टिप्पणी लेख्नुहोस्