लेख विवरण

पहिलो पटक विश्वकपमा पुग्दा केप भर्डेमा कार्निभलजस्तै उत्सव, सडकमै नाचगान

पहिलो पटक विश्वकपमा पुग्दा केप भर्डेमा कार्निभलजस्तै उत्सव, सडकमै नाचगान

प्राइया — फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपमा पहिलो पटक स्थान बनाएपछि अफ्रिकी सानो टापु राष्ट्र केप भर्डे उत्सवमय बनेको छ। देशभरका सहरहरूमा कार्निभलजस्तै माहोल छ — गाडीका हर्न, आतसबाजी, गीत र नृत्यले सारा देश रंगिएको छ।

सेनेगलको किनाराबाट टाढा रहेको यो टापु राष्ट्र जनसंख्याका हिसाबले अफ्रिकाको सबैभन्दा सानो देश हो। विश्वकपमा छनोट हुने राष्ट्रहरूमध्ये यो आइसल्यान्डपछि विश्वकै दोस्रो सानो देश बनेको छ।

सोमबार राजधानी प्राइयास्थित नेशनल स्टेडियममा एस्वातिनीविरुद्ध ३–० को जितसँगै “ब्लू सार्क्स” नामले चिनिने केप भर्डेले ऐतिहासिक रूपमा २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो। खेलपछि हजारौं समर्थकहरू सडकमा ओर्लिए र राजधानीका गल्ली–गल्लीमा उत्सव सुरु भयो।

फ्यानहरूले रिगे र स्थानीय फुनाना संगीतमा नाच्दै आफ्नो खुसी व्यक्त गरे — दृश्यहरू देशकै चर्चित कार्निभलजस्ता थिए।

३७ वर्षीय समर्थक जोरगे जुनियर लिभ्रामेन्टोले भने, “म शब्दहरूमै बाँधिन सक्दिनँ। म स्टेडियममै थिएँ र हाम्रो टोलीलाई पुरै मनले साथ दिएँ।”

मुख्य प्रशिक्षक पेद्रो ‘बुबिस्ता’ ब्रितोले भने, “यो जित सम्पूर्ण केप भर्डेेली जनताकै जित हो। यी मानिसहरूलाई यो खुसी दिन पाउनु गर्वको कुरा हो।”

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले केप भर्डेलाई बधाई दिँदै यसलाई “ऐतिहासिक क्षण” भनेका छन्। उनले भने, “यो सफलता देशभरका नयाँ पुस्तालाई फुटबलमा प्रेरित गर्नेछ।”

केप भर्डेले आफ्नो छनोट समूहमा २३ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो, दोस्रो स्थानमा रहेको क्यामरुनभन्दा चार अंकले अगाडि।

सेनेगलको किनारादेखि टाढा रहेको १० टापुहरूको समूह केप भर्डेले सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो र सन् २००२ मा पहिलो पटक विश्वकप छनोट चरणमा भाग लिएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.