लेख विवरण

बागलुङमा अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङ, असोज ३० गते ।
अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा भएको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। उपल्लाचौरस्थित दावगरा बसपार्कमा बुधबारदेखि खेल सुरु भएको हो भने प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार हुनेछ।

समाजले पहिलो पटक जिल्लाभित्र सर्वाधिक पुरस्कार राशीसहितको प्रतियोगिता आयोजना गरेको हो। पहिलो दिनको खेलमा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेका छन्।

पहिलो खेलमा बागलुङ नगरपालिकाले तमानखोला गाउँपालिकालाई ३–२ सेटमा पराजित गरेको थियो। सुरुवाती दुई सेटमा पछि परेको बागलुङले पुनरागमन गर्दै लगातार तीन सेट जितेको हो। बागलुङले २०–२५, १८–२५, २५–२१, २५–१५ र १५–१३ ले जित दर्ता गरेको थियो।

त्यस्तै, दोस्रो खेलमा जैमिनी नगरपालिकाले बडिगाड गाउँपालिकालाई हराउँदै विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा जिल्लाका १० पालिका सहभागी छन् र खेल लिग–कम–नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।
बिहीबार हुने दोस्रो दिनमा ६ खेलहरू हुनेछन् — बागलुङ र बरेङ, निसीखोला र तमानखोला, जैमिनी र गलकोट, ढोरपाटन र काठेखोला, तमानखोला र बरेङ तथा बडिगाड र गलकोट नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका संयोजक तथा अन्तर्राष्ट्रिय बागलुङ समाजका सचिव राजु थापाका अनुसार, “प्रथम हुने टोलीले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।”

त्यसैगरी उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, बिधागत उत्कृष्टलाई ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना टोलीलाई २५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल दिइनेछ।

समाजले हरेक दुई वर्षमा यस प्रतियोगिता नियमितरूपमा आयोजना गर्ने योजना समेत सार्वजनिक गरेको छ।
प्रतियोगिता बागलुङ नगरपालिका, जिल्ला भलिबल संघ र खेलकुद विकास समितिको सहकार्यमा आयोजना गरिएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.