लिग नहुँदा निराश छु, तर देशका लागि सधैं शत प्रतिशत दिनेछु : अनन्त तामाङ
काठमाडौं, असोज ३० गते । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले देशमा तीन वर्षदेखि लिग नहुँदा खेलाडीको मनोबलमा ठूलो असर परेको बताएका छन्।
भियतनामविरुद्धको ‘होम म्याच’ समेत विदेशमा खेल्नुपरेको र एन्फाले पुनः लिग नहुने संकेत दिएपछि आफू गहिरो निराशामा पुगेको तामाङले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
उनले लेखे, “मैदानबाहिरको अवस्था जस्तो भएपनि हामी खेलाडीले देशका लागि मैदानभित्र पसेपछि सधैं शत प्रतिशत दिएका छौं र दिनेछौं पनि। तर लिग नखेलेको तीन वर्ष पुग्न लागिसक्दा, मसँगै करिअर सुरु गरेका धेरै खेलाडी देश छाडिसकेका छन्। हामी बाँकी जो छौं, सेवा, सुविधा र प्रशिक्षण जस्तो भएपनि आफ्नो सम्पूर्ण प्रयास दिइरहेका छौं।”
भियतनाममा ‘होम म्याच’ खेल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले भनेका छन्, “आज नेपालका लागि विदेशमा ‘होम म्याच’ खेलेपछि लिग नहुने भन्ने चर्चाले निराशाको अर्को चरणमा पुगेको छु। जब एन्फा एकेडेमीमा प्रवेश गरेँ, यस्तो अवस्था आउनेछ भन्ने सोचेकै थिइनँ।”
हाल बंगलादेशको क्लबमा खेलिरहेका तामाङले घरेलु फुटबलको अभावले राष्ट्रिय टोलीको प्रदर्शनमा पनि असर पर्ने चेतावनी दिएका छन्। “यदि राष्ट्रिय टोलीमा खेल्ने र घरेलु लिगमा खेल्ने खेलाडीलाई नियमित फुटबल खेल्ने अवसर मिल्दैन भने ठूला टिमसँग नतिजा अपेक्षा गर्नु गलत हुन्छ,” उनले भनेका छन्।
एन्फा र क्लबहरूलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्दै तामाङले थपे, “एन्फाले लिग गराउने जिम्मेवारी पूरा गर्नुपर्छ। म क्लबहरूलाई पनि अनुरोध गर्छु—तपाईंहरू टिम निर्माण गरेर तयारी थाल्नुहोस्। एन्फालाई फुटबल गराउन बाध्य पार्नुहोस्। यदि अझैपनि प्रतीक्षा गरिरहनुभयो भने क्लबहरू कागजमा मात्र सीमित हुनेछन् र खेलाडी खोजेर पनि पाउने स्थिति रहनेछैन।”
अन्त्यमा उनले खेलाडी र खेलको अस्तित्व जोगाउनकै लागि भए पनि लिग आयोजनाको आवश्यकता रहेको बताएका छन्।

टिप्पणी लेख्नुहोस्