नेपाल तेस्रो पटक टी–२० विश्वकपमा, लगातार दोस्रो संस्करणमा खेल्ने मौका
काठमाडौँ, असोज २९ — नेपालले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ। ओमानमा जारी एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल विश्वकपमा छनोट भएको हो।
नेपाल यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकपमा सहभागी भएको थियो। यसपटक नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको छ।
आगामी सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालले सहभागी हुने छ। नेपालसँगै आयोजक देश ओमान पनि विश्वकपमा छनोट भएको छ। दुबै टोलीले दुई खेल बाँकी रहँदै स्थान पक्का गरेका हुन्।
सुपर सिक्स चरणमा बुधबार भएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपालको विश्वकप स्थान पक्का भएको हो।
यूएईले दिएको २२६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमै सीमित रह्यो।
अब यूएई र जापानबीचको भिडन्तबाट एक टोलीले बाँकी रहेको अन्तिम स्थान पाउनेछ।
सुपर सिक्स चरणको अंक तालिकामा ओमान र नेपाल ६–६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन्।
यूएईको ४ अंक छ भने जापान र सामोआ अंकविहीन छन्।
नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ भने अन्तिम खेल शुक्रबार सामोआविरुद्ध हुनेछ।
यूएईले अन्तिम खेलमा जापानसँग खेल्नेछ।

टिप्पणी लेख्नुहोस्