एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काद्वारा महासचिव राईसँग स्पष्टीकरण माग
काठमाडौँ, असोज २९ गते ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष जीरबहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण माग गर्नुभएको छ।
बुधबार एन्फा सचिवालयमार्फत पठाइएको पत्रमा खड्काले एन्फाको साधारण सभाबाट अनुमोदित कार्यक्रम कार्यसमितिलाई जानकारी नगराई एकलौटी निर्णय गर्दै पत्रकार सम्मेलन गरेको भन्दै राईलाई कारण बताउन निर्देशन दिनुभएको हो।
हाल एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ विदेशमा रहेको हुँदा, विधानअनुसार कार्यवाहक अध्यक्षको हैसियतमा खड्काले सो स्पष्टीकरण माग्नुभएको हो।
खड्काले राईले साधारण सभाबाट अनुमोदित कार्यक्रम परिमार्जन गरी होम एन्ड अवे लिग नहुने घोषणा गरेर एन्फाको छवि धमिल्याएको आरोप लगाउनुभएको छ। पत्रमा भनिएको छ, “साधारण सभाबाट पारित कार्यक्रम परिवर्तन गरी सिङ्गो नेपाली फुटबलको संरचना ध्वस्त पार्ने कार्य कुन अधिकार प्रयोग गरी गर्नुभयो? एन्फा कार्यसमितिलाई जानकारी नगराई गरिएको पत्रकार सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थालाई बदनाम बनाएको छ।”
महासचिव राईले मङ्गलबार मात्र एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै पुसमा हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे ढाँचामा नहुने जानकारी गराएका थिए।

टिप्पणी लेख्नुहोस्