कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्न सरकारद्वारा गुरुयोजना स्वीकृत
काठमाडौँ, असोज ३१ । सरकारले त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालामा रुपान्तरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयले प्रस्तुत गरेको गुरुयोजना अनुमोदन गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो।
सो योजना अनुसार रङ्गशालाको विस्तार र आधुनिकीकरणका लागि करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सरकारका अनुसार यो परियोजना सम्पन्न भएपछि नेपालमा पहिलोपटक पूर्णरूपमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्रिकेट मैदान तयार हुनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर रङ्गशालाको विकासले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा नयाँ अध्याय सुरु गर्ने बताए। उनले भने, “नेपालमा विश्वस्तरका खेल आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको दिशामा यो ठूलो कदम हो। सरकार यसलाई दीर्घकालीन रणनीतिक परियोजना मान्दै अघि बढ्नेछ।”
गुरुयोजना स्वीकृतसँगै मन्त्रिपरिषद्ले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) र दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।
मन्त्री घिसिङले केही दिनअघि नै कीर्तिपुरको निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए। उनले बजेट अभावका कारण निर्माण ढिलो नहोस् भनेर मन्त्रालयस्तरमा प्राथमिकता दिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीचको मैदान प्रयोग सम्झौताको अवधि आगामी २०८३ वैशाखमा समाप्त हुँदैछ। सो सम्बन्धमा सरकारले त्रिवि र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नयाँ दीर्घकालीन सम्झौता गर्न निर्देशन दिएको छ, जसले मैदानलाई दीर्घकालीन रूपमा खेल प्रयोजनका लागि सुरक्षित बनाउनेछ।
शहरी विकास मन्त्रालयले जानकारी दिएको अनुसार, हाल रङ्गशालाको पहिलो चरण अन्तर्गतको काम अन्तिम चरणमा पुगेको छ। आगामी मङ्सिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (NPL) अघि मैदान तयार पार्ने लक्ष्यका साथ काम तीव्र गतिमा भइरहेको छ।
कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गर्ने यो योजना सफल भएमा नेपालमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने सम्भावना झनै बढ्नेछ र देशको खेलकुद पूर्वाधारमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्