काठमाडौं । विश्व खेलकुदमा ‘मिनी ओलम्पिक’का रुपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाईलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त गरिएको छ।
धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट ‘गौघाट ग्रीन रन’ मा समेत सहभागिता जनाएका केलाईले आयोजकको जलवायु परिवर्तन सम्बन्धी जनचेतनामूलक प्रयासको प्रशंसा गरेका छन्। उनले दौडमार्फत जलवायु सचेतना फैलाउने आयोजकको पहल ‘प्रेरणादायी र व्यावहारिक’ रहेको बताए।
“आयोजकले वातावरणीय सन्देशलाई सहज र शान्तिपूर्ण तरिकाले प्रस्तुत गरेका छन्। अब यसलाई व्यवहारिक बनाउन वृक्षारोपण र प्लास्टिकको प्रयोग घटाउने पहलमा सबैको सहभागिता आवश्यक छ,” उनले भने।
धारा नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य सहित दूत नियुक्त भएका केलाईले विश्वस्तरीय धावकहरुलाई नेपाल ल्याउन समन्वय गर्ने बताएका छन्।
“म विश्वस्तरीय म्याराथन धावकहरुको सहभागिता गराउन प्रयास गर्नेछु, जसले गर्दा धारा नेपालगन्ज म्याराथनलाई ‘गोल्ड लेभल’ म्याराथनमा रुपान्तरण गर्न मद्दत पुग्नेछ,” उनले बताए।
सद्भावना दूतका रूपमा आगामी वर्षहरूमा पनि नेपाल आउने तयारीमा रहेको बताउँदै उनले भने, “धारा नेपालगन्ज म्याराथनका कुनै पनि दौड कार्यक्रममा म अवश्य सहभागी हुनेछु।”
यदि धारा नेपालगन्ज म्याराथनले रनिङ क्लिनिक वा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनायो भने उनले हरेक वर्ष आफ्नो समय दिन तयार रहेको बताएका छन्।
“म एमेच्योर र एलिट खेलाडीहरूलाई प्रशिक्षण, युवाहरुलाई मार्गनिर्देशन र प्रेरणादायी वक्ताका रूपमा सहयोग गर्न सक्छु,” केलाईले भने।
केन्यालाई विश्वस्तरीय धावक उत्पादन गर्ने देशका रूपमा चिनिँदै आएको छ। यस सन्दर्भमा उनले नेपालका खेलाडीहरूलाई केन्यामा प्रशिक्षणको अवसर दिन सहयोग गर्ने प्रतिबद्धता जनाए।
“केन्यामा व्यवस्थित रनिङ कार्यक्रमहरू छन्, जसले नेपालका खेलाडीहरूलाई प्रत्यक्ष लाभ पुर्याउन सक्छ। म धारा नेपालगन्ज म्याराथनमार्फत यस्तो सहकार्यलाई अघि बढाउनेछु,” उनले जोड दिए।
उनका अनुसार, केन्याली रनिङ एकेडेमीहरूले नेपालका आयोजकहरूसँग सहकार्य गर्न सक्ने सम्भावना उच्च छ। “म केन्या एथ्लेटिक्स फेडरेसन र नेपाललाई जोड्ने सेतुको रूपमा काम गर्नेछु, जसले दुवै देशबीच अनुभव, संस्कृति र विकास आदानप्रदानमा मद्दत पुर्याउनेछ,” उनले बताए।
नेपालमा दौडप्रतिको आकर्षण बढ्दो रहेको भन्दै केलाईले स्थानीय र जिल्ला स्तरमा बढी प्रतियोगिता आयोजना गरेर युवामा रुचि बढाउन सकिने सुझाव दिए।
अन्त्यमा उनले भने, “नेपालमा एथ्लेटिक्सको ठुलो सम्भावना छ। तर प्राविधिक प्रशिक्षण, सहयोग र पूर्वाधारको अभाव छ। त्यसैले आधारभूत क्षमता विकासमा ध्यान दिनु जरुरी छ।”
जोन केलाईले सिंगापुर, मुम्बई, ब्रसेल्स, र टोरन्टो वाटरफ्रन्ट म्याराथन लगायतका विश्वप्रसिद्ध म्याराथन जितेका छन्। उनी शुक्रबार नेपाल छाड्दै छन्।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्