थाइल्याण्डसँगको ठूलो हारपछि नेपाल एएफसी महिला यू–१७ एसियन कप छनोटबाट बाहिरियो
काठमाडौँ । नेपालले एएफसी महिला यू–१७ एसियन कप फुटबलको छनोट चरणमा आफ्नो यात्रा टुङ्ग्याएको छ।
शुक्रबार थाइल्याण्डको चोनबुरी रङ्गशालामा सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग १२–० को फराकिलो अन्तरले पराजित भयो।
सो जितसँगै थाइल्याण्डले समूहका दुई खेलमै जित निकाल्दै ६ अङ्कसहित शीर्ष स्थानमा रहँदै आगामी वर्ष चीनमा हुने एएफसी महिला यू–१७ एसियन कपमा स्थान सुरक्षित गरेको छ।
थाइल्याण्डले खेलको पहिलो हाफमै आक्रमक प्रदर्शन गर्दै ८ गोल गर्यो भने दोस्रो हाफमा थप ४ गोल गर्दै सहज जित हात पार्यो।
यसअघि थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० ले हराएको थियो।
नेपालले भने पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। तर अन्तिम खेलमा ठूलो हार बेहोरेसँगै नेपालको एएफसी अभियान समाप्त भएको छ।
यो हारसँगै नेपाल समूह चरणमै बाहिरिए पनि खेलाडीहरूले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त अनुभवले आगामी प्रतियोगितामा सुधारका लागि आधार तयार गरेको बताइएको छ।

टिप्पणी लेख्नुहोस्